Logo

२०८३ कार्तिक १२ गते बिहिवार

२०८३ कार्तिक १२ गते बिहिवार

कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने

कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने


  • 197
    Shares

    कामना सेवा फुटसल कप सिजन ६ को खेल तालिका, जर्सी र ट्रफी सार्वजनिक : ३० टोली भिड्ने
    images

    काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप सिजन ६’ को खेल तालिका (टाई-सिट ड्र), जर्सी, ट्रफी तथा ब्रान्ड एन्थम सार्वजनिक गरिएको छ । बैंकले कात्तिक ११ गते एक औपचारिक कार्यक्रम आयोजना गर्दै प्रतियोगिताको पूर्वतयारी सार्वजनिक गरेको हो ।

    यस वर्षको प्रतियोगिता आगामी कात्तिक १४ र १५ गते काठमाडौंस्थित धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुनेछ । प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० गरी कुल ३० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

    कार्यक्रममा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगिता मात्र नभएर खेलकुदमार्फत समाज र युवाहरूसँग जोडिने माध्यम भएको बताए । खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता प्रतियोगितालाई प्राथमिकताका साथ निरन्तरता दिँदै आएको उनको भनाइ थियो ।

    सो अवसरमा त्रिपाठीले फुटसल कपको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका व्यवस्थापकहरूलाई जर्सी हस्तान्तरण गरेका थिए ।

    कार्यक्रममा गत सिजन ५ का पुरुषतर्फका उपाधि विजेता सिद्धार्थ बैंक र महिलातर्फका विजेता लुम्बिनी विकास बैंकका प्रतिनिधिहरूले पनि आ-आफ्नो धारणा राखेका थिए । यस्ता आयोजनाले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच आपसी भाइचारा र सम्बन्ध विस्तार गर्न ठूलो सहयोग पुग्ने उनीहरूले बताए ।

    यस्तै, फिफा एएफसी एलिट असिस्टेन्ट रेफ्री हरीश कार्कीले प्रतियोगिताका खेल नियम, अनुशासन, फाउल तथा निर्णय प्रक्रियाबारे प्राविधिक जानकारी गराउँदै सबै टोलीलाई स्वच्छ र रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे ।

    कार्यक्रममा साफ फुटसल रेफ्री संगीता सुनुवार, एन्फा रेफ्रीहरू, विभिन्न टोलीका व्यवस्थापक, प्रतिनिधि तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो । बैंकले खेलकुद प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक १२ २०८३ बिहिवार - १२:३५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij