२०८३ कार्तिक ८ गते आइतवार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार बनेको छ । बैंकले आगामी कात्तिक ९ गतेदेखि सुरु हुने एनपीएल सिजन–३ का लागि जनकपुर बोल्ट्ससँग आधिकारिक बैंकिङ साझेदारी गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको जनाएको छ ।
एनपीएल नेपाली क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । प्रतियोगिताको तेस्रो संस्करणका सबै खेललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आधिकारिक लिस्ट ए टी–२० मान्यता प्रदान गरेको छ । यससँगै खेलाडीले बनाउने रन, लिने विकेट तथा व्यक्तिगत प्रदर्शन आधिकारिक टी–२० तथ्याङ्कमा समावेश हुनेछन् ।
एनपीएलको पहिलो संस्करणको उपाधि जितेको जनकपुर बोल्ट्सले यस सिजन पनि उपाधि जित्ने लक्ष्य राखेको छ । टोलीले मधेश प्रदेशको खेलकुद पहिचानलाई उजागर गर्दै नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस साझेदारीले क्रिकेटमार्फत समुदायसँग जोडिन, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न तथा युवा सशक्तीकरणमा योगदान पुर्याउन सहयोग गर्ने बताए ।
उनका अनुसार बैंकले जर्सीमा आफ्नो लोगो राख्नेमात्र नभई नेपाली क्रिकेटको विकास र समुदायसँगको सम्बन्ध विस्तारमा समेत प्रतिबद्धता जनाएको छ । जनकपुर बोल्ट्ससँग सहकार्य गर्न पाउँदा बैंकले गर्व महसुस गरेको जनाएको छ ।
त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले मुक्तिनाथ विकास बैंकलाई आधिकारिक बैंकिङ साझेदारका रूपमा स्वागत गर्दै सहकार्यले टोलीलाई थप ऊर्जा प्रदान गर्ने बताए ।
उनले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेशका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्राबीच समानता रहेको उल्लेख गरे । एनपीएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन पनि उपाधि जनकपुर फर्काउने लक्ष्य रहेको उनको भनाइ छ ।
आईसीसीको आधिकारिक मान्यताले यस सिजनलाई खेलाडीका लागि थप महत्त्वपूर्ण बनाएको उल्लेख गर्दै खतिवडाले बैंकसँगको सहकार्यले मैदानभित्र र बाहिर दुवैतर्फ टोलीलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । साथै, मधेशका युवा प्रतिभालाई प्रोत्साहन गर्ने साझा प्रतिबद्धतालाई साझेदारीले थप मजबुत बनाउने उनले बताए ।
ग्राहककेन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले खेलकुदमार्फत समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग गर्ने अवसरका रूपमा यस साझेदारीलाई लिएको जनाएको छ ।
बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जारी गरेको जानकारीअनुसार बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालासँगको सम्बन्धलाई थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij