२०८२ माघ ७ गते बुधवार
काठमाडौं । चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षा असार २६ गतेदेखि गर्ने तयारी गरेको छ। कोरोना संक्रमणका कारण रोकिएको स्नातक तहको एकीकृत परीक्षा असार २६ गते सञ्चालन गर्न आयोगले आन्तरिक रुपमा तयारी समेत गरिसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले बताए।
प्रवेश परीक्षा असार २६ गतेदेखि सञ्चालन गर्ने अनुमति माग गर्न सिसिएमसीलाई प्रस्ताव समेत पठाइसकिएको डा गिरीले जानकारी दिए। सिसिएमसीले आयोगको प्रस्ताव अनुसार परीक्षा सञ्चालनका लागि स्वीकृति दिएमा आयोगले २६ गतेबाट परीक्षा सञ्चालन गर्ने छ।
‘हामीले असार २६ गतेदेखि स्नातक तहको प्रवेश परीक्षा सुरु गर्ने भनेर तयारी गरेका छौं,’ डा गिरीले भने, ‘सिसिएमसीसँग अनुमति मागेका छौं, सिसिएमसीले अनुमति दिएमा परीक्षा हुन्छ।’
डा गिरीका अनुसार स्नातक तहको एकीकृत प्रवेश परीक्षा भने काठमाडौं उपत्यकामा मात्रै गर्ने योजना बनाइएको छ।
डा गिरीले असार अन्तिम सातासम्ममा निषेधाज्ञा खुल्न सक्ने भएकाले असार २६ परीक्षार्थी सहजै रुपमा काठमाडौं आएर परीक्षा दिन सक्ने जानकारी दिए। यदी निषेधाज्ञा नखुल्ने भएमा परीक्षार्थीलाई काठमाडौंमा परीक्षा दिन आउने व्यवस्था मिलाउन पनि आफूहरुले पहल गर्ने डा गिरीको भनाइ छ।
एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ लगायत चिकित्सा शिक्षा तर्फका स्नातक तहको एकीकृत प्रवेश परीक्षामा सहभागि हुन आयोगले यसअघि नै अनलाई फारम खुला गरेको थियो। प्रवेश परीक्षा दिन करिब २५ हजार ५०० परीक्षार्थीले फारम भरेको डा गिरीले जानकारी दिए।
आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको विभिन्न संकायका लागि देशभरका मेडिकल कलेजहरुमा सिट समेत निर्धारण गरिसकेको छ।
कुन कलेजलाई कति सिट? सुचिसहित
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij