२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । चाडपर्वको अग्रिम टिकट बुकिङबारे तत्काल निर्णय भएन
चाडपर्वको अग्रिम टिकट बुकिङबारे तत्काल निर्णय भएन
काठमाडौं । दसैँ, तिहार, छठलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा यात्रुलाई सुरक्षित र सहज यातायात सेवा उपलब्ध गराउने विषयमा सरोकारवाला निकायबीच छलफल भएको छ ।
यातायात व्यवस्था विभागमा सोमबार भएको छलफलमा सडकको अवस्था, प्रतिकूल मौसम, बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा यात्रु सुरक्षाका विषयमा विस्तृत समीक्षा गरिएको थियो । तर, सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने विषयमा भने तत्काल ठोस निर्णय हुन सकेन ।
बैठकमा सडक विभाग, नेपाल प्रहरी राजमार्ग सुरक्षा महाशाखा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नाडा, नाइमा, उपभोक्ता हित संरक्षण मञ्च र ल्होत्सेलगायतका प्रतिनिधिहरू सहभागी थिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले सडकको अवस्था सुधार नभएसम्म अग्रिम टिकट बुकिङ खोल्न हतार गर्न नहुने बताए । उनका अनुसार अहिले टिकट बिक्रीभन्दा यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनु मुख्य चुनौती हो ।
प्राकृतिक प्रकोप र वर्षाका कारण उपत्यकाबाट बाहिरिने मुख्य सडकसँगै देशभरका ग्रामीण तथा दुर्गम क्षेत्रका सडकसमेत थप जोखिमपूर्ण बनेको उनले बताए ।
सडकको अवस्था र सुरक्षा चुनौतीबारे थप गृहकार्य आवश्यक रहेकाले बैठक निष्कर्षविहीन भएको हो । व्यवसायी तथा सम्बन्धित निकायले आ–आफ्नो तयारी पूरा गरेपछि पुनः बैठक बसेर अग्रिम टिकट बुकिङको मिति तय गरिने महासंघका अध्यक्ष सिटौलाले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij