२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३\८४’ सार्वजनिक गरेको छ ।
योजनामार्फत प्रवासी नेपालीलाई घर तथा जग्गा खरिदका लागि सहज, प्रतिस्पर्धी र सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकले जनाएको हो ।
योजनाअन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने भएको छ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहनेछ भने सेवा शुल्क ०.५० प्रतिशत र ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको बैंकले जनाएको छ ।
यो सुविधा देशभरका ३०० वटा शाखामार्फत उपलब्ध हुने बैंकले जनाएको छ । योजनाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत र जग्गा खरिदका लागि कर्जा लिन सकिनेछ ।
त्यस्तै, बढीमा दुई जना सन्तानका लागि नेपाल वा विदेशमा अध्ययन गर्न औसत आधार दरमा थप १.५ प्रतिशत प्रतिवर्ष ब्याजदरमा शैक्षिक कर्जा सुविधा उपलब्ध गराइनेछ । शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
योजनाअन्तर्गत पहिलो वर्ष डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराइनेछ । बैंकका अनुसार नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।
योजनाले विदेशमा कार्यरत तथा बसोबास गर्ने नेपालीलाई आफ्नो र परिवारको भविष्यका लागि आवासीय सम्पत्ति निर्माण तथा खरिद गर्न आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने बैंकको अपेक्षा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij