२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले पुराना सवारी साधनबाट हुने वायु प्रदूषण नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।
सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद तामाङले सडकमा गुड्ने पुराना तथा धुवाँ फाल्ने सवारी साधनका कारण नागरिकले प्रदूषित हावा खान बाध्य भइरहेको बताइन् । उनले सवारी साधनको अवस्था र त्यसबाट हुने प्रदूषणबारे सरकारले प्रभावकारी लेखाजोखा नगरेको आरोप लगाइन् ।
तामाङले तीन महिनाअघि नै पूर्वाधार विकास मन्त्रालयमा यस विषयमा प्रश्न उठाएको स्मरण गराउँदै कालो धुवाँ फाल्ने सवारी साधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाइए पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको बताइन् ।
उनले नियम बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण समस्या झन् बढेको बताउँदै पुराना सवारी विस्थापनका लागि सरकारसँग पर्याप्त स्रोत नभएको भन्ने जवाफ बहानाजस्तो देखिएको टिप्पणी गरिन् ।
सडकमा धुवाँ फाल्ने पुराना सवारी साधनका कारण नागरिकको स्वास्थ्य र वातावरणमा असर परिरहेको भन्दै उनले तत्काल त्यस्ता सवारीको अनुगमन कडा बनाउन सरकारसँग माग गरिन् ।
सांसद तामाङले पुराना तथा प्रदूषण फैलाउने सवारी साधन विस्थापनका लागि प्रभावकारी नीति ल्याउन र भएका नियमको कडाइका साथ कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराइन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij