Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

आज दिनभर: रात्रिकालीन सार्वजनिक यातायातको चर्चादेखि जलवायु न्याय र क्षतिपूर्तिको लागि दबाब बढाउनेसम्म

आज दिनभर: रात्रिकालीन सार्वजनिक यातायातको चर्चादेखि जलवायु न्याय र क्षतिपूर्तिको लागि दबाब बढाउनेसम्म


  • 694
    Shares

    आज दिनभर: रात्रिकालीन सार्वजनिक यातायातको चर्चादेखि जलवायु न्याय र क्षतिपूर्तिको लागि दबाब बढाउनेसम्म
    images

    १. रात्रिकालीन सार्वजनिक यातायातले काठमाडौंलाई थप चलायमान बनाउँछः सुनिता डंगोल

    काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सार्वजनिक यातायातको सेवा दिउँसोमा मात्र सीमित नभई रातिसमेत विस्तार गर्नुपर्ने बताउनुभएको छ । ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । स्थानीय सरकारको महत्वपूर्ण दायित्वमध्ये यातायात सेवाको विस्तार पनि रहेको उल्लेख गर्नुभयो । उहाँले रात्रिकालीन बस सेवा सञ्चालनसँगै काठमाडौं उपत्यका अब दिउँसो मात्र नभई रातिसमेत चलायमान बन्ने बताउनु भयो । डंगोलकाअनुसार वैशाख १ गतेदेखि परीक्षणका रूपमा बुढानीलकण्ठ–ललितपुरको लगनखेल र विमानस्थल–चन्द्रागिरि रुटमा रात्रिकालीन बस सेवा सञ्चालन गरिएको थियो । 

    २. रात्रिकालीन बस सेवा निःशुल्क गर्न चिरिबाबु महर्जनको प्रश्ताव

    ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले काठमाडौं उपत्यकामा सञ्चालन हुने रात्रिकालीन बस सेवा निःशुल्क गर्न प्रश्ताव गर्नुभएको छ । ललितपुरमा आयोजित काठमाडौं उपत्यका रात्रिकालीन बस सेवा विस्तार कार्यक्रममा बोल्दै महर्जनले राति सार्वजनिक यातायात प्रयोग गर्ने श्रमिक तथा न्युन आय भएका वर्गलाई लक्षित गर्दै रात्रिकालीन बस सेवा निःशुल्क गर्नुपर्ने बताउनुभएको हो । उहाँले रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च काठमाडौं उपत्यकाका १८ वटै स्थानीय तहले मिलेर व्यहोर्नुपर्ने प्रश्ताव गर्नुभयो । त्यसमा काठमाडौं र ललितपुर महानगरपालिकाले तुलनात्मक रूपमा ठूलो हिस्सा व्यहोर्न तयार रहेको उहाँको भनाइ छ । महर्जनले अहिलेका लागि रात्रिकालीन बस सेवाको ब्रेक–इभेन अवस्थालाई यथास्थितिमै राखेर निश्चित ‘कटअफ डेट’ तोक्नुपर्ने बताउनु भयो । 

    ३. मकै–कोदो छाडेर सिल्भर डलर खेती, बजारको माग धान्नै मुस्किल

    जंगली जनावरले मकै, गहुँलगायतका अन्नबाली नष्ट गर्न थालेपछि मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेका किसान रमेश रानामगरले परम्परागत खेतीको विकल्प खोजे । अन्नबालीबाट अपेक्षित आम्दानी लिन नसकेपछि उनले सुरु गरेको सिल्भर डलर (युकालिप्टस) खेती अहिले उनको आम्दानीको नयाँ आधार बन्न थालेको छ । करानामगरले ३१ रोपनी क्षेत्रफलमा कविब दुई हजार सिल्भर डलरका बिरुवा लगाएका छन् । उनकाअनुसार एउटा बिरुवाको मूल्य करिव १ हजार ४ सय रुपैयाँ पर्छ । ठूलो लगानीमा शुरु गरिएको खेतीबाट रोपेको ७ देखि ८ महिनामै उत्पादन लिन सकिने र बजारमा मागसमेत उच्च रहेकाले उनी उत्साहित छन् । 

    ४. कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो

    पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएपछि राजमार्गमा चल्ने सवारीसाधनको चाप बढेको छ । गत असोज १ गतेदेखि कृष्णभीर क्षेत्रमा दुवैतर्फको सडक सञ्चालनमा आएपछि लामो समयदेखि प्रभावित यातायात सेवा क्रमशः सहज बन्दै गएको हो । गत भदौ १० गते आएको भोटेकोशी र त्रिशूली नदीको बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुनुका साथै पहिरो गएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आउने–जाने सवारीसाधन प्रभावित भएका थिए । मुख्य सडक नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । सडक अवरुद्ध भएपछि सम्बन्धित निकायले तत्काल वैकल्पिक सडक निर्माण तथा कटानको काम अघि बढाएका थिए । 

    ५. एमाले सचिवालय बैठक च्यासलमा शुरु

    नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुरु भएको छ । आईतवार अपराह्न शुरु भएको बैठकले आगामी केन्द्रिय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ । बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले तयार पारेको प्रतिवेदन समेत पेश हुने र त्यसबारे छलफल गरी पारित गर्ने तयारी छ । कार्यदलले निर्वाचनको समीक्षा, पार्टीको भावी कार्यदिशा तथा संगठन सुदृढीकरणलगायत विषय समेटेर साझा प्रतिवेदन तयार पारेको जनाएको छ । सचिवालय बैठकले उक्त प्रतिवेदन पारित गरेपछि सोमवार बस्ने केन्द्रिय कमिटी बैठकमा पेश गर्ने तयारी रहेको एमाले नेताहरूले बताएका छन् । 

    ६. एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन

    नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले सर्वसम्मत प्रतिवेदन तयार गरेको छ । कार्यदलले तयार गरेको प्रतिवेदन आईतवार बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने निर्णय गरेको हो । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव पद्मा अर्यालले निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा कार्यदलमा गम्भीर छलफल भएको बताउनु भयो । उहाँकाअनुसार बदलिँदो जनताको मनोविज्ञान, पार्टीले सामना गरिरहेका चुनौती तथा एमालेलाई एकतावद्ध बनाएर अघि बढाउने विषयमा छलफल गरिएको थियो। कार्यदलमा आएका विभिन्न सुझावलाई खुला रूपमा छलफल गरी साझा प्रतिवेदन तयार गरिएको उहाँले बताउनु भयो । 

    ७. एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत

    नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग्ने वा पदबाट हटाउने विषय प्रतिवेदनमा नरहेको स्पष्ट पारेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले सचिव महेश बस्नेतले अध्यक्षको राजीनामा माग्ने, हटाउने वा आलोचना गर्ने विषय प्रतिवेदनमा नरहेको बताउनुभएको हो । उहाँकाअनुसार बलथली बैठकपछि विभिन्न मस्यौदा तथा १३ वटा समूहबाट आएका सुझावलाई समेटेर तीन जना नेतालाई एकीकृत प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो । 

    ८. इन्द्रजात्राको रौनकः कुमारी घरको पवित्र चुल्होमा पाक्दैछन् परम्परागत रोटी

    कााठमाडौं उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ नजिकिएसँगै ऐतिहासिक हनुमानढोका वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहलपहल निकै चुलिएको छ । एकातिर वसन्तपुर परिसरमा श्री कुमारी, श्री गणेश र श्री भैरवको ऐतिहासिक तीन तले काठका रथहरू मर्मत, रंगरोगन र सजावट गर्ने कार्य तिब्र पारिएको छ भने अर्कातिर कुमारी घरको भित्री चोकमा जीवित देवीदेवतालाई भोग चढाउन विशेष परम्परागत रोटीहरू तथा नैवेद्य बनाउने काम श्रद्धापूर्वक भइरहेको छ । कुमारी घरको परम्परागत आँगन र भान्सामा ताहःसिं परिवार, चिताइदार तथा गुठियार महिलाहरू बिहानैदेखि चोखोनितो गरी पवित्र परम्परागत रोटी बनाउन व्यस्त छन् । 

    ९.‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’ः सांसद सिंह

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मधेशलाई जात, धर्म, भूगोल वा राजनीतिको नाममा विभाजित गरी द्वन्द्वको मैदान बनाउन नहुने बताउनुभएको छ । आईतवार जनकपुरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले देशको अबको राजनीति समाज जोड्ने, एकता कायम गर्ने र आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको हो । सिंहले मधेस र कोशी प्रदेशलाई ‘ब्याटल ग्राउण्ड’ बनाउन देशभित्र र बाहिरका विभिन्न शक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउनु भयो ।

    १०. ‘प्रश्न सोध्नुअघि अनुमति लिनुपर्छ, मुखमा माइक नघोच्नुस्’ः ओली

    पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पत्रकारहरूले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा नेकपा एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ओलीले प्रश्न सोध्नुअघि अनुमति लिनुपर्ने र प्रकाशित गर्नुअघि पनि सम्बन्धित व्यक्तिलाई जानकारी गराउनुपर्ने बताउनुभएको हो । उहाँले अन्तर्राष्ट्रिय पत्रकारिताको अभ्यासमा पत्रकारले प्रश्न सोध्नुअघि सम्बन्धित व्यक्तिसँग प्रश्न गर्न मिल्छ कि मिल्दैन भनेर सोध्ने र अन्तर्वार्ता वा भनाइ प्रकाशित गर्नुअघि समेत त्यसबारे जानकारी गराउने अभ्यास रहेको दाबी गर्नुभयो ।

    ११. ‘ग्रे जोन’ रिपोर्टमा नाम आएकाले जवाफ दिनुपर्छः महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले ‘द ग्रे जोन’को रिपोर्टमा नाम जोडिएका व्यक्तिहरूले त्यसबारे जनतालाई स्पष्ट जवाफ र स्पष्टीकरण दिनुपर्ने बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै बस्नेतले रिपोर्ट गलत भए सम्बन्धित व्यक्तिहरूले त्यसको खण्डन गर्नुपर्ने, नभए रिपोर्टमा उठाइएका प्रश्नको जवाफ दिनुपर्ने बताउनुभएको हो । उहाँले रिपोर्टबारे व्याख्या गरेको आरोपमा भरत दाहाललाई पक्राउ गरिएको विषयमा पनि प्रश्न उठाउनु भयो । 

    १२. इरानले भन्यो—‘आवश्यक वस्तुको आपूर्तिबारे चिन्ता गर्नुपर्दैन’

    इरानका उपगृहमन्त्री तथा राजनीतिक मामिलाका प्रवक्ता अली जेइनिभान्डले शनिवार देशमा अत्यावश्यक वस्तुको आपूर्तिलाई लिएर कुनै चिन्ता नरहेको बताउनुभएको छ । उहाँले ‘शत्रुहरूको गलत प्रचार’बाट प्रभावित नहुन जनतालाई आग्रह गर्नुभएको हो । तेहरानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले देशमा अत्यावश्यक वस्तु ठूलो मात्रामा आयात भइरहेकाले अहिले भण्डारण क्षमताको अभाव देखिएको बताउनु भयो । यसका लागि सरकारले निजी क्षेत्रलाई समेत सहयोग गर्न आह्वान गरेको उनले जानकारी दिनुभयो । 

    १३. उत्तरपूर्वी चीनमा सडक पार गर्दै गरेको साइबेरियन बाघको परिवार देखियो

    चीनको उत्तरपूर्वी क्षेत्रमा रहेको जिलिन प्रान्तको वाङछिङ काउन्टीमा एक स्थानीय बासिन्दाले जंगली साइबेरियन बाघको परिवार सडक पार गरिरहेको देखेका छन् । बाघकी आमाले आफ्ना चारवटा बच्चालाई साथमा लिएर सडक पार गरिरहेको दृश्य स्थानीय बासिन्दाले प्रत्यक्ष देखेका हुन् । साइबेरियन बाघलाई अमुर बाघ पनि भनिन्छ । यो विश्वका दुर्लभ ठूला बिरालो प्रजातिमध्ये एक हो । यस्तो अवस्थामा आमा बाघसँगै चारवटा बच्चा देखिनु वन्यजन्तु संरक्षणका दृष्टिले उल्लेखनीय घटना मानिन्छ । 

    १४. चीन–आसियान एक्स्पोमा एआई सहकार्य मुख्य आकर्षण

    चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको नानिङमा जारी २३ औँ चीन–आसियान एक्स्पोमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी उत्पादनहरू मुख्य आकर्षण बनेका छन् । एक्स्पोमा रहेको ‘एआई मार्केटप्लेस’मा ७० भन्दा बढी कम्पनीका करिव ५ सय वटा एआईसम्बन्धी उत्पादन प्रदर्शनमा राखिएका छन् । यस वर्षको एक्स्पोमा एआई सहकार्य प्रमुख विषयका रूपमा अघि आएको छ । भियतनामको उद्योग तथा व्यापार मन्त्रालयको हाङ्झाउस्थित व्यापार प्रवद्र्धन कार्यालयका प्रमुख प्रतिनिधि लो सुआन क्वेतले भन्नुभयो । 

    १५. ट्रम्पले रूसमाथि प्रतिवन्धसम्बन्धी विधेयकमा हस्ताक्षर गरे

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिन्डसे ओ. ग्राहम रूस तथा इरान प्रतिबन्ध ऐन, २०२६’’ नामक विधेयकमा हस्ताक्षर गरी कानूनको रूप दिनुभएको छ । ह्वाइट हाउसकाअनुसार यो कानुनले रूसमाथि वैधानिक प्रतिबन्ध, शुल्क (ट्यारिफ) र अन्य निषेधात्मक व्यवस्था विस्तार गर्नुका साथै इरानमाथिका विद्यमान प्रतिबन्धलाई निरन्तरता दिन्छ । कानूनअन्तर्गत रुसी अधिकारी, बैंक तथा रुसी ऊर्जा ढुवानीमा प्रयोग हुने जहाजहरूमाथि प्रतिवन्ध लगाउने व्यवस्था गरिएको छ । 

    १६. फ्रान्समा डिजेलको मूल्यले कीर्तिमान तोड्दा साना व्यवसाय प्रभावित

    फ्रान्समा डिजेलको मूल्य अहिलेसम्मकै उच्च स्तरमा पुगेपछि सडक यातायातमा निर्भर साना व्यवसायहरू आर्थिक दबाबमा परेका छन् । सरकारी इन्धन मूल्यसम्बन्धी वेबसाइटमा रिपोर्ट भएका करिव ९ हजार पेट्रोल पम्पका तथ्यांकलाई एएफपीले गरेको विश्लेषणअनुसार शुक्रवार देशभर डिजेलको औसत मूल्य प्रतिलिटर २.३९ युरो अर्थात् करिब २.७५ अमेरिकी डलर पुगेको छ । पेट्रोलको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । सबैभन्दा धेरै विक्री हुने पेट्रोलको मूल्य प्रतिलिटर २.१७ युरो अर्थात करिब २.४९ डलर पुगेको छ । 

    १७. ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’

    पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा सडक कटान गरी वैकल्पिक मार्ग निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण कृष्णभीरमा ठुलो पहिरो खसेर करिव १८ दिन अवरुद्ध बनेको सडक असोज १ गतेदेखी सञ्चालनमा आएको हो । राजमार्ग अवरुद्ध हुँदा काठमाडौंलगायत देशका विभिन्न भागबाट आउने–जाने सवारीसाधन प्रभावित भएका थिए । मुख्य सडक नै क्षतिग्रस्त भएपछि यात्रु तथा मालवाहक सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्नुपरेको थियो । सडक अवरुद्ध भएपछि सडक विभागले तत्काल वैकल्पिक सडक निर्माण तथा कटानको काम अघि बढाएका थियो । नागढुङ्गा–मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीले कृष्णभीरमा पहिरो खसेपछि तत्काल वैकल्पिक मार्गको खोजिमा लागेको बताउनु भयो । 

    १८. वामपन्थी एकता अनिवार्य छ तर टाउको मात्रै जोडेर हुँदैनः झलनाथ खनाल

    नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी एकता अनिवार्य भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित ‘सहकारी ठगीको जालो’ पुस्तक विमोचन कार्यक्रममा उहाँले देश संकटमा रहेकोले वामपन्थी एकता अनिवार्य देखिएको बताउनुभएको हो । उहाँले हाल वामपन्थी आन्दोलन कमजोर हुँदै गएको बताउनु भयो । बामपन्थी शक्ति कमजोर हुँदा देश अस्थिरता र अनिश्चितताको अवस्थामा पुगेको उहाँको दाबी छ । उहाँले राष्ट्रिय मुद्दाहरू समाधान गर्न वामपन्थी शक्तिहरू एकता गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नीति, सिद्धान्त, आदर्श तथा वैचारिक–राजनीतिक दिशाका आधारमा बामपन्थी एकता गर्न आह्वान समेत गर्नुभयो । तर एकता नेताहरुको टाउको जोडेर मात्रै गर्न नहुने उहाँको भनाई छ ।

    १९. संविधान संशोधन सामान्य गट्टी खेल जस्तो होइनः झलनाथ खनाल

    नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले संशोधनको नाममा वर्तमान संविधानलाई विकार बनाउने खेल भइरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले संविधान संशोधन तत्काल आवश्यक नरहेको बताउनु भयो । पहिला संविधानको सीमावलोकन गरेर अनि संसोधन गर्नुपर्नेमा भएरमा सर्वदलिय सहमतिमार्फत गर्नुपर्ने उहाँको भनाई छ । तर अहिले संशोधनका नाममा संविधानको मर्म र भावनालाई कमजोर बनाउने प्रयास भइरहेको उहाँले बताउनु भयो । संविधानको मर्म र भावन सीमावलोकन नै नभएको अवस्थामा संशोधनको बहस अघि बढाउनु उपयुक्त नहुने उहाँको भनाई छ । उहाँले समय र सन्दर्भविना नै संविधान संशोधनको हल्ला चलाइएको बताउनु भयो ।

    २०. सहकारी ठगीमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्छः प्रदीप ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित सहकारी ठगीसम्बन्धी पुस्तक विमोचनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले राजनीतिक संरक्षणको आधारमा ठगलाई जोगाउन नहुने बताउनु भयो । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीमा संलग्न पार्टी सभापति रवि लामिछानेलाई जोगाउन देशव्यापी आन्दोलन नै गरेको आरोप लगाउनु भयो । ठगीमा संलग्नलाई जोगाउन आन्दोलन गर्ने रास्वपा पहिलो पार्टी भएको उहाँको भनाई छ । 

    २१. सहकारीहरु अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेः देव गुरुङ

    नेपाली कम्युनिष्ट पार्टीका नेता देव गुरुङले सहकारी संस्थाहरू वचत तथा ऋण परिचालनमा मात्रै केन्द्रित भएर अनुत्पादक क्षेत्रमा लगानी गर्दा डुब्न पुगेको बताउनुभएको छ । मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन कार्यक्रममा उहाँले अधिकाँंश सहकारीले घरजग्गामा कारोबार गर्ने गरेको बताउनुभएको हो । उहाँले नेपालमा सहकारी क्षेत्र आफ्नो मूल अवधारणा भन्दा बाहिर गएको आरोप लगाउनु भयो । करिव ६५ प्रतिशत सहकारी संस्थाहरुले वचत तथा ऋण कारोबारमा मात्रै केन्द्रित भएको दाबी गर्नुभयो । सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलमा केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर बनेको उहाँको भनाई छ । 

    २२. खोज, उद्धार र राहतका काममा कुनै कसर बाँकी नराख्न सरकारलाई रास्वपाको आग्रह

    सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काम थप  प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । उहाँले विपद्पछिको खोजी, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरिएको बताउनु भयो । उहाँकाअनुसार सरकारका प्रतिनिधिहरुले बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनस्र्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताउनु भयो । 

    २३. रास्वपा मधेस महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित ‘अडिट समिति’ले प्रारम्भिक प्रतिवेदन बुझायो

    सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश महाधिवेशन हुन नसक्नुका कारणबारे छानबिन गर्न गठित ‘अडिट समिति’ले प्रारम्भिक प्रतिवेदन बुझाएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय चःमतीमा बसेको सचिवालय बैठकमा समिति संयोजक तथा पार्टी सहमहामन्त्री हरि ढकालले प्रारम्भिक प्रतिवेदन बुझाउनुभएको प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । यसअघि सांसदहरुको दबाब र जातीय समस्याको कारण मधेस प्रदेशमा अधिवेशन हुन सकेको छैन । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सामा मात्र महाधिवेशन सम्पन्न भएको छ । प्रवक्ता खरेलकाअनुसार समितिले प्रारम्भिक प्रतिवेदन बुझाएपनि विस्तृत प्रतिवेदन तयार भइरहेको बताउनु भयो । बैठकले पार्टीका केही विभागमा सदस्य मनोनयन गर्ने निर्णय समेत गरको उहाँको भनाइ छ ।

    २४. जलवायु न्याय र क्षतिपूर्तिको लागि तथ्यसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आवश्यकः सहसंयोजक नेपाल

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जलवायु न्यायका लागि नेपालले तथ्य र प्रमाणसहित अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आवश्यक रहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित ‘विश्व तापमानमा वृद्धि, हिमाली क्षेत्रमा पार्ने असरले नेपालमा पार्ने जोखिम र जलवायु न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तन न्यूनीकरणमा नेपालले गरेको योगदानको प्रचारप्रसार गर्नुका साथै भोगिरहेको क्षतिको उचित क्षतिपूर्तिको लागि कुटनीतिक पहल बढाउनुपर्ने बताउनु भयो । जलवायु परिवर्तनको असर र त्यसबाट उत्पन्न जोखिमको विषयमा वैज्ञानिक तथ्यका आधारमा विश्व समूदायलाई जानकारी गराउँदै जलवायु न्याय सुनिश्चित गर्नुपर्ने सहसंयोजक नेपालको भनाइ छ । –न्युज एजेन्सी नेपाल

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - २०:०७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij