२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले गत भदौ १० गते आएको भोटेकोशी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण माग गरिएको छ।
भदौ २६ गते पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको अध्यक्षतामा यातायात व्यवसायी तथा सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकको निर्णय अनुसार उक्त विवरण माग गरिएको हो।
भोटेकोशी बाढीका कारण सिर्जित असामान्य र प्रतिकूल अवस्थाले सार्वजनिक यातायात सम्बद्ध क्षेत्रमा पर्न गएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न समिति गठन गरिएको छ। उक्त समितिले क्षतिपूर्तिको आधार तथा अन्य सम्बद्ध विषय समेतको आधार निर्धारण गरी राय सुझावसहितको प्रतिवेदन पेस गर्ने जनाएको छ।
यसै सन्दर्भमा क्षति मूल्याङ्कन समितिले भदौ ३१ गते गरेको निर्णयानुसार सरकारी निकाय, गैरसरकारी संस्था, मिडिया, निजी संघ संस्था, अनुसन्धानकर्ता, सरोकारवाला निकाय तथा आम नागरिकहरूसँग भएको विपद् सम्बन्धी क्षतिको विवरण सात दिनभित्र उपलब्ध गराउन अनुरोध गरेको छ।
तथ्याङ्क प्राप्तिका लागि अनलाइन पोर्टलका रूपमा विभागको इमेल bibhagyatayata@gmail.com प्रयोग गर्न सकिने छ। यसका साथै लिखित तथ्याङ्क विभागको योजना शाखामा उपलब्ध गराउन सकिने व्यवस्था मिलाइएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij