२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बागमती प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मुख्यमन्त्री किरण थापा मगरले सत्ता साझेदार नेकपाबाट रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।
आले मगरलाई बिहीबार नै पद तथा गोपनीयताको शपथ गराउने तयारी छ। उनी यसअघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा युवा तथा खेलकुद मन्त्री बनेकी थिइन्।
बागमती सरकारमा नेकपाको भागमा परेको दुई मन्त्रालयमध्ये सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनिसकेका छन्। पूर्वसहमति अनुसार दोस्रो मन्त्रालयको जिम्मेवारी आले मगरलाई दिन लागिएको हो।
यसअघि बागमतीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो। एमालेका भरत केसी, ज्ञानबहादुर तामाङ, नेकपाका सरल सहयात्री पौडेल तथा राप्रपाका राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापती मन्त्री बनेका थिए।
यसैबीच नेकपाभित्र थप एक मन्त्रालय माग गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ। तर सत्ता गठबन्धनमा मन्त्रालयको संख्या थप नगर्ने सहमति रहेकाले यसबारे टुंगो लागिसकेको छैन।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij