२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले भदौ महिनाका लागि करदाता प्रोत्साहन उपहार घोषणा गरेको छ। आन्तरिक राजस्व विभागले बाढीका कारण यसपटक १५/१५ दिनमा गरिँदै आएको उपहार घोषणा प्रक्रियालाई मासिक बनाएको हो।
विभागका अनुसार भदौमा दुई जनाले १०/१० लाख रुपैयाँको बम्पर उपहार प्राप्त गरेका छन्। कात्यायनी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गर्ने एक ग्राहक र सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने अर्का ग्राहक बम्पर उपहारका लागि छनोट भएका हुन्।
यस्तै, अन्य ३१ जनाले जनही १ लाख रुपैयाँ नगद उपहार प्राप्त गरेका छन्।
विभागले विद्युतीय माध्यमबाट जारी हुने बिजक तथा करसम्बन्धी कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो उपहार योजना सञ्चालन गर्दै आएको जनाएको छ। यसमार्फत उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिजक लिन प्रोत्साहित गर्ने र कर प्रणालीमा पारदर्शिता बढाउने लक्ष्य राखिएको छ।
यसअघि विभागले हरेक १५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij