२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल परिसरबाहिर सडक पेटीमा प्रसूति भएको घटनामा छानबिन समितिले ड्युटीमा रहेका स्वास्थ्यकर्मी र सुरक्षागार्डमाथि विभागीय कारबाही गर्न सिफारिस गरेको छ।
भदौ २५ गते बबिता पासवानले अस्पताल परिसरबाहिर सडक पेटीमा बच्चा जन्माएपछि अस्पतालले छानबिन समिति गठन गरेको थियो। समितिले घटनाको अध्ययन तथा सम्बन्धित पक्षसँग छलफल गरेपछि अस्पताल प्रशासन र कर्मचारीको कमजोरी देखिएको निष्कर्ष निकालेको हो।
घटनाका बेला ड्युटीमा रहेका चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षागार्डको भूमिकामा कमजोरी देखिएको भन्दै समितिले विभागीय कारबाहीको सिफारिस गरेको छ।
यस्तै, आमा सुरक्षा कार्यक्रमअन्तर्गत उपलब्ध हुने निःशुल्क सेवाबारे स्पष्ट जानकारी नहुँदा समस्या भएको समितिले जनाएको छ। प्रयोगशाला परीक्षणको शुल्क तथा सेवा व्यवस्थापनमा समेत कमजोरी देखिएको भन्दै सुधारका लागि सुझाव दिइएको छ।
समितिले गर्भवती तथा अन्य बिरामीलाई सहज सेवा उपलब्ध गराउन कर्मचारीको जिम्मेवारी स्पष्ट गर्न र आकस्मिक अवस्थामा तत्काल उपचारको व्यवस्था सुनिश्चित गर्न सुझाव दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij