२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित पाँचवटा कानुन संशोधनको प्रक्रिया अघि बढाएको छ।
मन्त्रालयले तयार पारेका संशोधन मस्यौदा कानुनी प्रक्रियाका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको जनाएको छ। तीमध्ये सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा महत्वपूर्ण संशोधन प्रस्ताव गरिएको छ।
प्रस्तावित व्यवस्थाअनुसार आमालाई हालको ९८ दिनबाट बढाएर कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा दिने प्रस्ताव गरिएको छ। यस्तै, बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको छ।
मस्यौदामा प्रसूति सेवा दिने स्वास्थ्य संस्थामा दक्ष स्वास्थ्यकर्मी वा तालिमप्राप्त प्रसूतिसेवाकर्मीको व्यवस्था गर्नुपर्ने, सम्मानजनक प्रसूति सेवा सुनिश्चित गर्ने तथा गर्भवती र सुत्केरी महिलामाथि हुने शारीरिक वा मानसिक हिंसा रोक्ने कानुनी प्रबन्धसमेत प्रस्ताव गरिएको छ।
मन्त्रालयका अनुसार मातृत्वलाई महिलाको मात्र जिम्मेवारीका रूपमा नहेरी नवजात शिशुको हेरचाहमा बुबाको सहभागिता बढाउने उद्देश्यले पनि संशोधन अघि बढाइएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij