२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालमा जापानी इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाद्वारा जारी स्थिति प्रतिवेदन अनुसार देशका १६ जिल्लामा २६ जनाको ज्यान गइसकेको छ। मृत्यु हुनेहरूमा सबैभन्दा बढी झापाका ६ जना छन् ।
त्यस्तै, सुनसरी, सप्तरी, पर्सा, कैलाली र अर्घाखाँचीमा २–२ जना तथा मोरङ, इलाम, रौतहट, धनुषा, काभ्रे, दाङ, तनहुँ, नवलपरासी ९पश्चिम०, कञ्चनपुर र रोल्पामा १–१ जनाको मृत्यु भएको छ । पछिल्लो पटक रोल्पा र तनहुँमा १–१ जना गरी २ जनाको ज्यान गएको हो।
मृत्यु हुनेहरूमा १२ पुरुष र १४ महिला रहेका छन् । तथ्याङ्क अनुसार मृत्यु हुनेमध्ये ७७ प्रतिशत ५० वर्षभन्दा माथिल्लो उमेर समूहका व्यक्तिहरू रहेका छन् । प्रतिवेदनको सबैभन्दा चिन्ताजनक पक्ष के छ भने जापानी इन्सेफ्लाइटिसका कारण ज्यान गुमाएका १०० प्रतिशत अर्थात् सबै बिरामीहरूले खोप नलगाएको पाइएको छ । यस रोगको केस फ्याटालिटी रेट (मृत्युदर) २१ प्रतिशत रहेको छ।
हालसम्म देशका ७ वटै प्रदेशका ३६ जिल्ला ८४ पालिकामा १२१ जनामा प्रयोगशालाबाट जापानी इन्सेफ्लाइटिस पुष्टि भएको छ भने ५६ जना बिरामी हाल उपचाररत छन् । पूर्वी नेपालबाट फैलन सुरु भएको यो सङ्क्रमण तराईका जिल्लाहरूमा बढी देखिएको छ।
विशेषगरी धान खेत र सुँगुर र बङ्गुर फाराम नजिकै बसोबास गर्ने र खोप नलगाएका नागरिकहरू यस रोगको उच्च जोखिममा परेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij