Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गोरखामा ५५० जनाले पाए घरमै राहदानी

गोरखामा ५५० जनाले पाए घरमै राहदानी


  • 1.3K
    Shares

    गोरखामा ५५० जनाले पाए घरमै राहदानी
    images

    काठमाडौं। जिल्ला हुलाक कार्यालयमार्फत गोरखाका ५५० जनाले घरमै राहदानी ९पासपोर्ट० प्राप्त गरेका छन् ।

    गत वैशाख १५ गतेदेखि जिल्लाभर ६०० जनाले घरमै राहदानी प्राप्त गर्न फाराम भरेकामा हालसम्म ५५० जनाले सेवा लिएका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । बाँकी राहदानी आउने क्रममा रहेको उनले बताए ।

    गत चैत १३ गते बसेको मन्त्रिपरिषद् बैठकले हुलाकमार्फत नागरिकको घरघरमै राहदानी पुर्‍याउने निर्णय गरेको थियो । सरकारको शासकीय सुधार कार्यक्रमअन्तर्गत हुलाक सेवामार्फत राहदानी घरमै पुर्‍याउने नीतिअनुसार जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच वैशाख १५ गते सम्झौता भएको हो ।

    सम्झौताअनुसार जिल्ला प्रशासन कार्यालयमा हुलाक कार्यालयको एउटा काउन्टर स्थापना गरी कर्मचारी खटाइएको जिल्ला हुलाक अधिकृत विनोद गैरेले बताए । राहदानीको फाराम भर्न प्रशासन कार्यालय आउने सेवाग्राहीले राहदानी कार्यालयबाटै लिने वा घरमै प्राप्त गर्ने विकल्प छनोट गर्न पाउने व्यवस्था गरिएको छ ।

    घरमै राहदानी लिन चाहने सेवाग्राहीको आवश्यक विवरण हुलाकको काउन्टरमा टिपाउने गरिएको छ । राहदानी तयार भएर आएपछि सोही विवरणका आधारमा हुलाक कार्यालयले सेवाग्राहीको घरमै पुर्‍याउने गरेको गैरेले बताए ।

    घरमै राहदानी प्राप्त गर्न सेवाग्राहीले ५५ रुपैयाँको हुलाक टिकट टाँस्नुपर्नेछ । त्यसबाहेक अन्य अतिरिक्त शुल्क नलाग्ने हुलाक कार्यालयले जनाएको छ ।

    राहदानी लिनका लागि सेवाग्राहीले आफ्नो नाम, सम्पर्क नम्बर, ठेगानालगायतका आवश्यक विवरण हुलाक काउन्टरमा टिपाउनुपर्ने व्यवस्था छ ।

    काठमाडौँबाट छापिएर आएका राहदानी जिल्ला प्रशासन कार्यालयले हुलाक कार्यालयलाई जिम्मा लगाएपछि जिल्लाभित्र कम्तीमा तीन दिनभित्र सेवाग्राहीको घरमा पुर्‍याउने गरिएको जिल्ला हुलाक अधिकृत गैरेले बताए । राहदानी बुझाएपछि हुलाक कार्यालयले रसिद बनाएर जिल्ला प्रशासन कार्यालयमा बुझाउने गरेको छ ।

    जिल्ला हुलाक कार्यालयले उत्तरी गोरखाको चुमनुब्री र धार्चे गाउँपालिकामा पनि घरमै राहदानी पुर्‍याउने सेवा सञ्चालन गरिरहेको छ । भौगोलिक विकटताका कारण चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिमबाहेक अन्य स्थानमा घरघरमै राहदानी पुर्‍याउन भने कठिनाइ रहेको हुलाक कार्यालयले जनाएको छ ।

    चुमनुब्रीमा पालिका केन्द्रसम्म राहदानी पठाउन सकिए पनि त्यसभन्दा माथिका बस्तीमा पुर्‍याउन आवश्यक जनशक्ति र स्रोतसाधनको अभाव रहेको गैरेले बताए । सरकारको नीतिअनुसार उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम प्रयोग गरी सेवा सञ्चालन गरिएको उनले बताए ।

    पालुङटार नगरपालिका, सहिदलखन र आरुघाट गाउँपालिकाका अधिकांश सेवाग्राहीले घरमै राहदानी बुझिलिने गरेको जिल्ला हुलाक कार्यालय गोरखाले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र ३१ २०८३ बुधवार - ०९:५९:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij