२०८३ भाद्र ३१ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले संस्थापन पक्षले अघि बढाउन लागेको विशेष महाधिवेशनको प्रक्रियालाई अवैधानिक भन्दै त्यसविरुद्ध आफू चुप लागेर नबस्ने धारणा राखेका छन् ।
मंगलबार अपिल जारी गर्दै देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनमा सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। उनले उक्त प्रक्रिया पार्टी हितविपरीत रहेको दाबी गर्दै कांग्रेसलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा आफू मुकदर्शक भएर बस्न नसक्ने बताएका छन्।
कांग्रेसभित्रको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै देउवाले पार्टीको विधान, पद्धति, परम्परा तथा केन्द्रीय समितिका निर्णयविपरीत एकपक्षीय रूपमा विशेष महाधिवेशन अघि बढाउन खोजिएको आरोप लगाए।
विशेष महाधिवेशनको वैधतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अन्तिम फैसला नहुँदै प्रक्रिया अघि बढाउनु कानुनी र संवैधानिक दृष्टिले उचित नहुने उनको भनाइ छ। सर्वोच्चले पुनरावलोकनको निस्सा प्रदान गरिसकेको अवस्थाले समेत विषय गम्भीर रहेको उनले उल्लेख गरेका छन्।
देउवाले अनुभवी नेतृत्व र ठूलो संख्यामा रहेका नेता–कार्यकर्तालाई बेवास्ता गरेर अघि बढ्ने प्रवृत्तिले कांग्रेसलाई थप कमजोर बनाउने चेतावनी दिएका छन्। साथै, विशेष महाधिवेशन किन आवश्यक पर्यो भन्ने प्रश्नको जवाफसमेत नेता–कार्यकर्ता र जनताले स्पष्ट रूपमा नपाएको उनको दाबी छ।
आफूलाई कुनै पदको लोभ नरहेको बताउँदै देउवाले पार्टी र राज्यले आफ्नो अनुभव आवश्यक ठाने जीवनको अन्तिम समयसम्म जिम्मेवारी निर्वाह गर्न तयार रहेको बताएका छन्।
उनले सहमति र सहकार्यबाट विवाद समाधान गर्नुपर्नेमा जोड दिँदै एकपक्षीय रूपमा महाधिवेशन अघि बढाउने प्रयास भए त्यसको प्रतिवाद गर्ने संकेत गरेका छन्।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij