२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले विपत्तिको समयमा सरकार एक्लैले सबै काम गर्न सक्छु भन्ने सोच नराख्न आग्रह गरेको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद पद्माकुमारी अर्यालले विपद्पछि सरकारले तत्काल गर्नुपर्ने केही महत्वपूर्ण काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेकी हुन्।
उनले विपत्तिको समयमा सरकारले सार्वजनिक आह्वान, सहयोगका लागि अनुरोध तथा कूटनीतिक पहलमार्फत तत्काल सहयोग जुटाउनुपर्ने भए पनि त्यसो गर्न नसकेको बताइन्। विद्यालय तथा क्याम्पसमा रहेका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न समेत सरकार चुकेको उनको भनाइ थियो।
अर्यालले विपद्को अनुभवबाट सिक्दै सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर राजनीतिक दलहरूसँग छलफल र समन्वय गर्नुपर्ने बताइन्।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले देश र जनताको माया सरकारमा रहेका र बाहिर रहेका सबैलाई समान रहेको बताइन्।
‘यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू, देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।’
सरकारले केही काम गरे पनि विपद्को समयमा अझ प्रभावकारी ढंगले काम गर्न सकिने उनको भनाइ थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij