२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भारतबाट रुपन्देहीको भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको आरोपमा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले मंगलबार भैरहवास्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका लु २ ख १५४४ र लु १ ख ६५०४ नम्बरका ट्याङ्करबाट राति करिब १० बजे तेल निकालिरहेको अवस्थामा प्रहरीले छापा मारेको थियो।
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनामा संलग्न रहेको आशंकामा एक जना सहचालकलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनापछि भलवारी डिपोबाट हुने पेट्रोलियम पदार्थको ढुवानी तथा नापजाँच प्रणालीमाथि समेत प्रश्न उठेको छ। केही स्रोतले ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालकको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको दाबी गरेका छन्।
डिपोले ट्याङ्करको सिल नियमित रूपमा परीक्षण नगरेको तथा आयातित पेट्रोलियम पदार्थको पर्याप्त नापजाँच नगरेको आरोपसमेत लगाइएको छ। प्रहरीले भने घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij