२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभाको बैठकमा अस्पतालको आईसीयूभित्रै अन्तर्वार्ता लिइएको विषयले प्रवेश पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद समीक्षा बाँस्कोटाले बैठकको आकस्मिक समयमा आईसीयूजस्तो संवेदनशील कक्षमा अन्तर्वार्ता लिइएकोप्रति प्रश्न उठाएकी हुन्।
सांसद बाँस्कोटाले आईसीयू गम्भीर अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएको उल्लेख गर्दै त्यहाँ बिरामीको स्वास्थ्य, गोपनीयता र सङ्क्रमण नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने बताइन्।
उपचाररत बिरामी रहेको आईसीयूभित्रै अन्तर्वार्ता लिनु वा त्यसका लागि अनुमति दिनु कति नैतिक र उचित हो भन्ने प्रश्न उठाउँदै उनले यस विषयलाई गम्भीर रूपमा लिन सरकारको ध्यानाकर्षण गराइन्।
‘मानिसको जीवनभन्दा ठूलो कुनै कन्टेन्ट, अन्तर्वार्ता वा भ्युज हुन सक्दैन,’ उनको भनाइ थियो। मानव जीवनलाई टीआरपी वा भ्युजको मूल्यमा तौल्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने उनले बताइन्।
बाँस्कोटाले अस्पतालमा उपचाररत बिरामीलाई अनावश्यक हैरानी हुन नदिन स्पष्ट मापदण्ड आवश्यक रहेको बताउँदै मेडिकल नेग्लिजेन्ससम्बन्धी बहुआयामिक विषय समेटेर छुट्टै ऐन ल्याउनुपर्ने माग गरिन्।
आईसीयूमा बिरामीको संवेदनशीलता, गोपनीयता र सुरक्षासम्बन्धी प्रोटोकल प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले स्पष्ट मापदण्ड बनाउनुपर्ने उनको जोड थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij