२०८३ आश्विन १ गते बिहिवार
१. ‘महानगर सफा राख्ने जिम्मेवारी हामी नागरिककै हो’ः जितु नेपाल
कलाकार जितु नेपालले काठमाडौं महानगरपालिकालाई सफा र व्यवस्थित बनाउन महानगरवासी स्वयं सचेत र जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपालले महानगरमा पार्किङको समस्या रहेको उल्लेख गर्दै ट्राफिक प्रहरीले गाडीमा लक लगाउने तथा पार्किङ व्यवस्थापनका कारण सर्वसाधारणले समस्या भोग्नुपरेको बताउनुभएको हो ।
२. १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा १२ दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ । सडक निर्माणको कामलाई तिब्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका हेभी सवारीसाधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराइएको हो ।
३. १४ औँ महाधिवेशनका सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेट्छौँः भण्डारी
नेपाली काँग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४ औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रिय सदस्यलाई आयोजक समितिमा समेटेर १५ औँ महाधिवेशनमा जाने बताउनुभएको छ । काँग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उहाँले बताउनुभएको हो । आईतवार पार्टी केन्द्रिय कर्यालयमा केन्द्रिय कार्य सम्पादन समितिको बैठकका क्रममा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४ औँ महाधिवेशनका सबै केन्द्रिय सदस्यलाई समेटिने बताउनु भयो ।
४. काठमाडौं बिग्रिन थालेको ५० वर्ष भइसक्यो, अहिले केही राम्रा काम भएका छन्’ः हरिवंश आचार्य
वरिष्ठ कलाकार हरिवंश आचार्यले काठमाडौं महानगरपालिका करिव ५० वर्षदेखि बिग्रिन थाले पनि पछिल्लो समय महानगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दिशामा केही राम्रा काम भएको बताउनुभएको छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै आचार्यले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण भएका फल्चाले मौलिक सम्पदा र संस्कृति संरक्षणमा महत्वपूर्ण भुमिका खेल्ने बताउनुभएको हो ।
५. कृष्णभीरमा एकतर्फी यातायात सुचारु
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ ।
६. कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सडक आंशिक रूपमा सञ्चालनमा ल्याउन तयारी भइरहेको छ । रोल...
सडकको ग्रेड मिलाउने काम भइरहेकाले केहीबेरमा खाली ग्यास बुलेट गुडाएर सडकको अवस्था परीक्षण गर्ने तयारी गरिएको हो । अहिले धादिङका प्रमुख जिल्ला अधिकारीसहितको टोली कृष्णभीरमा स्थलगत निरीक्षणमा पुगेको छ । सडक खुलाउन विभिन्न निकाय र संयन्त्र परिचालन गरेर काम भइरहेको छ । कृष्णभीरमा सडकको ग्रेड मिलाउने काम तिब्र पारिएको छ ।
७. चोभारको निकासमा समस्या आए काठमाडौंमा फेरि प्रलय हुनसक्छः मदनकृष्ण श्रेष्ठ
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले काठमाडौंको बाढी जोखिम न्युनिकरणका लागि चोभारको पानी निकासको विकल्प खोज्नुपर्ने बताउनुभएको छ । चोभारको निकास साँघुरो भएकाले त्यहाँ कुनै समस्या आए काठमाडौंमा ठूलो विपत्ति निम्तिन सक्ने भन्दै उहाँले वैकल्पिक रूपमा सुरुङ निर्माण गरी पानी निकास गर्न सकिने उपायबारे सोच्न महानगरपालिकालाई सुझाव दिनुभएको हो ।
८. जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै
वागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ । गत वर्षको जेन–जी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा यस्ता जोखिमबाट हुने आर्थिक भार कम गर्न सरकारले सबै सरकारी भवनको बिमा गर्न बजेटसमेत विनियोजन गरेको हो । वागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्टाकाअनुसार चालु आर्थिक वर्षदेखि प्रदेश सरकारका सम्पूर्ण सरकारी कार्यालयका भवनको बीमा गर्ने योजना अघि बढाइएको छ ।
९.देश अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको छः लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जेन–जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनुभएको छ । जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ्न नसकेको भन्दै उहाँले मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्नुभएको हो । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले विद्रोह जुन उद्देश्यका लागि भएको थियो, त्यसअनुसार जनताको अपेक्षा पूरा हुने वातावरण बन्न नसकेको बताउनु भयो ।
१०. निषेधको राजनीति छोडेर राष्ट्रिय सहमति निर्माण गर्नुपर्छः लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देशलाई थप द्वन्द्व र विद्रोहमा धकेल्ने नभई सबै राजनीतिक शक्तिबीच राष्ट्रिय सहमति निर्माण गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ । लामो समयदेखि चल्दै आएको निषेधको राजनीतिले मुलुकलाई निकास दिन नसकेको भन्दै उहाँले अब राजादेखि सबै राजनीतिक शक्तिसम्मलाई समेटेर राष्ट्रिय सहमति कायम गर्नुपर्ने बताउनुभएको हो ।
११. न्युरोडको एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरको प्रश्ताव
काठमाडौं महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ । काठमाडौंमा बढ्दो पार्किङ समस्या समाधानका लागि सिमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा मल्टी स्टोरी पार्किङ निर्माणको प्रश्ताव अघि बढाइएको हो । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै एनएसी भवनलाई मल्टी स्टोरी पार्किङ बनाउन महानगरलाई अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताउनु भयो ।
१२. पुरानो पूर्वसूचना प्रणालीले हिमनदी सिर्जित ठूला विपद् सामना गर्न सक्दैन
नेपाल–चीनबीच नयाँ प्रणाली विकास गर्नुपर्छः जलवायु परिवर्तन र वातावरण विशेषज्ञ माधव कार्की रसुवा भोटेकोशी विपद्ले नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनसँगै बढिरहेको जोखिम र त्यसअनुसार पूर्वतयारी तथा पुनर्निर्माणको ढाँचा परिवर्तन गर्नुपर्ने आवश्यकता देखाएको छ । हिमनदी, चट्टान र बरफ खस्दा सिर्जित यस्तो ठूला विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त तिब्र हुने भएकाले पुरानो पूर्वसूचना प्रणाली पर्याप्त नहुने देखिएको छ ।
१३. प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी, सङ्कीर्णतावादी तथा स्वतन्त्रताविरोधी कदम लामो समय टिक्न नसक्ने दाबी गर्नुभएको छ । जनचेतना र राजनीतिक परिवर्तनको प्रभाव निकै अघि बढिसकेको भन्दै उहाँले यस्ता कदमले परिवर्तनको यात्रालाई लामो समय रोक्न नसक्ने बताउनुभएको हो । आईतवार एमाले पार्टी केन्द्रिय कार्यालय च्यासलमा छापा माध्यम बचाउ सुझाव कार्यदलले बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै ओलीले नेपाली जनताको सङ्घर्ष निरन्तर उपलब्धितर्फ अघि बढिरहेको बताउनु भयो ।
१४. मङ्सिर २६–२८ को महाधिवेशन कुनै बहानामा रोकिँदैनः लिङदेन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले पार्टीको आगामी महाधिवेशन कुनै कारण वा बहानामा नरोकिने स्पष्ट पार्नुभएको छ । मङ्सिर २६, २७ र २८ गते हुने महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्दै त्यसलाई पार्टी पुनर्निर्माणको अवसरका रूपमा उपयोग गर्नुपर्ने उहाँले बताउनुभएको हो । आईतवार काठमाडौंमा आयोजित राप्रपा काठमाडौं जिल्ला अधिवेशनमा बोल्दै लिङदेनले पार्टीभित्र देखिएका कमजोरी सच्याएर नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताउनु भयो ।
१५. महानगरले ‘रिचार्ज काठमाडौँ’ अभियान चलाउने
काठमाडौं महानगरपालिकाले शहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्युनिकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । वर्षाको पानी सङ्कलन तथा जमिनमा पुनर्भरण (रिचार्ज) गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बताउनुभएको हो । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै डंगोलले काठमाडौंमा थोरै पानी पर्दासमेत बाढी आउने अवस्था सिर्जना भएको भन्दै यसको दीर्घकालीन समाधान खोज्नुपर्ने बताउनु भयो ।
१६. हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य हुनुपर्छः प्रहरी महानिरीक्षक कार्की
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । ट्राफिक प्रहरीलाई सवारीसाधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गरिरहने अवस्थाको अन्त्य गर्दै वैज्ञानिक र व्यवस्थित प्रणाली विकास गर्नुपर्ने उहाँको भनाइ छ । आईतवार काठमाडौं महानगर प्रहरी बलको ३४ औँ वार्षिकोत्सवमा बोल्दै कार्कीले एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो ।
१७. अस्ट्रेलियामा एकभन्दा बढी काम गर्नेको संख्या १० लाख पुग्यो
अस्ट्रेलियामा एकभन्दा बढी रोजगारी गर्ने मानिसको संख्या जुन २०२६ मा १० लाख पुगेको छ । यो कुल रोजगारीमा रहेका मानिसको ६.९ प्रतिशत हो, जुन अहिलेसम्मकै उच्च दर रहेको आधिकारिक तथ्यांकले देखाएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार मार्चमा ९ लाख ८४ हजार २०० रहेको एकभन्दा बढी काम गर्नेको संख्या जुनसम्ममा ६.६ प्रतिशतले बढेको हो । यस अवधिमा १ करोड ४१ लाख मानिसले भने एउटै रोजगारी गरिरहेका थिए ।
१८. चीनसँग व्यावहारिक सहकार्य थप गहिरो बनाउन इजिप्ट तयार
इजिप्टले चीनसँग व्यापार, लगानी, औद्योगिक स्थानीयकरण तथा स्वच्छ ऊर्जालगायतका क्षेत्रमा व्यावहारिक सहकार्य थप विस्तार गर्न आफू तयार रहेको जनाएको छ । इजिप्टका विदेशमन्त्री बद्र अब्देलातीले इजिप्टको नयाँ प्रशासनिक राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चीनसँगको सहकार्यलाई थप मजबुत बनाउने विषयमा जानकारी दिनुभएको हो । उहाँकाअनुसार इजिप्टले चीन–इजिप्ट टेडा स्वेज आर्थिक तथा व्यापार सहकार्य क्षेत्रको आगामी चरणलाई अघि बढाइरहेको छ । साथै, विशेषगरी नवीकरणीय तथा स्वच्छ ऊर्जाको क्षेत्रमा चीनसँगको सहकार्य थप सुदृढ गर्ने इजिप्टको योजना रहेको उहाँले बताउनु भयो ।
१९. जुलाईमा अस्ट्रेलिया जाने विदेशी आगन्तुक ७ लाख १० हजार भन्दा बढी
अस्ट्रेलियामा जुलाई २०२६ मा छोटो अवधिका लागि जाने विदेशी आगन्तुकको संख्या ७ लाख १० हजार ८० पुगेको छ । यो संख्या अघिल्लो वर्षको जुलाईको तुलनामा ८८४.३ प्रतिशतले कम हो । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा अस्ट्रेलिया आएका छोटो अवधिका आगन्तुकको संख्या सन् २०१९ को कोभिडपूर्व जुलाईको तुलनामा १० प्रतिशत कम रहेको छ । आगन्तुकको प्रमुख स्रोतका रूपमा न्युजिल्यान्ड पहिलो स्थानमा रहेको छ । कुल छोटो अवधिका आगन्तुकमध्ये न्युजिल्याण्डका नागरिकको हिस्सा १८.९ प्रतिशत रहेको छ । त्यसपछि चीन र संयुक्त राज्य अमेरिका रहेका छन् ।
२०. बेलारुसको राजधानी मिन्स्कमा ९५९ औँ स्थापना दिवस भव्य रूपमा मनाइयो
बेलारुसको राजधानी मिन्स्कले आफ्नो स्थापनाको ९५९ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । वार्षिकोत्सवका अवसरमा ‘मिन्स्क–हिरो सिटी’ स्मारकमा पुष्प अर्पण तथा ऐतिहासिक प्रश्तुति आयोजना गरिएको थियो । कार्यक्रममा शान्तिका लागि आफ्नो जीवन बलिदान गर्ने व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । शहरभरिका विभिन्न पार्कमा सांगीतिक कार्यक्रम, गीत तथा नृत्य प्रश्तुति, रेट्रो शो, खाद्य मेला र हस्तकला कार्यशाला आयोजना गरिएका थिए । कार्यक्रममा स्थानीय बासिन्दासँगै विभिन्न स्थानबाट आएका आगन्तुकहरूको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
२१. नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तिय स्वायत्तता प्रदान गर्न ऐन प्रतिस्थापनको गृहकार्य भइरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा ‘नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान ऐन, २०४८ को संशोधन तथा एकीकरण (प्रतिस्थापन) विधेयक मस्यौदा तर्जुमा सम्बन्धमा विषयविज्ञ तथा सरोकारवाला संस्थाहरुसँगको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
२२. सांसदहरूको जोड–‘प्रदेश र स्थानीय तहका कानूनसँग नबाझिने गरी संक्रामक पशु रोग नियन्त्रण ऐन निर्माण गर्नुपर्छ’
राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिमा संक्रामक पशु रोग नियन्त्रण विधेयकमाथि दफावार छलफल भएको छ ।
आईतवार सिंहदरबारमा बसेको समितिको बैठकमा विधेयकमाथि छलफल भएको छलफलमा सहभागि सांसदहरुले संक्रामक पशुरोग नियन्त्रण विधेयक लामो समयदेखि प्रक्रियामा रहेपनि संघीय संरचनाअनुसार प्रदेश र स्थानीय तहमा बनेका कानून तथा त्यसको प्रभावबारे अध्ययन गरी विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन् ।
२३. रसुवा बाढीपछिको पुनर्निर्माण गर्न वाह्य सहयोगमा निर्भर बन्न हुँदैनः अरुणकुमार सुवेदी
अर्थराजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले रसुवा बाढीपछिको पुनर्निर्माण तथा पुनस्र्थापनामा पुरै वाह्य सहयोगमा निर्भर नहुन सरकारलाई सुझाव दिनुभएको छ । विगतमा जस्तो पुनर्निर्माणका नाममा नेपाल मगन्ते बनेर हिँड्न नहुनेमा उहाँले जोड दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उहाँले विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) र एशियाली विकास बैंक (एडीबी) जस्ता संस्थाबाट सहयोग लिँदा विभिन्न सर्तहरू आउनसक्ने भएकाले त्यसतर्फ सरकार सचेत हुनुपर्ने बताउनु भयो ।
२४. हामीले पश्चिमाहरुको ठाडो नक्कल गरेका छौँ, अब चीनबाट सिक्दै आफ्नै विकास मोडल बनाउनुपर्छः झलनाथ खनाल
नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालले चीनबाट सिक्दै आफ्नै नयाँ विकास मोडल र समाजवाद निर्माण गर्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित तेस्रो संस्करणको काष्ठमण्डप संवादको आईतवार समापन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले चीनले सन् १९४९ को क्रान्तिपछि हासिल गरेको राजनीतिक स्थिरता र विकासबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताउनु भयो । चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक शर्तका रूपमा लिएको उल्लेख गर्दै उहाँले नेपालमा पनि दिगो स्थिरताको आधार निर्माण गर्नु चुनौतीपूर्ण रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij