२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको वास्तविक कारण पत्ता लगाउन वैज्ञानिक अध्ययन गर्ने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढीको उत्पत्ति, त्यससँग जोडिएका हिमाली भू–जोखिम र सम्भावित जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न विज्ञ समिति गठन गर्ने तयारी गरेको हो।
मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार घटनाको वैज्ञानिक आधार पहिचान गर्न विज्ञ समिति गठनको प्रक्रिया अघि बढाइएको छ। अध्ययनले बाढीलाई सामान्य वर्षा वा नदीमा आएको आकस्मिक बहावका रूपमा मात्र नभई हिमाली क्षेत्रमा एकपछि अर्को जोडिएका सम्भावित विपद्को श्रृंखलाका रूपमा समेत हेर्नेछ।
अध्ययनका क्रममा हिमनदी, पहिरो, भू–क्षय, नदीको बहाव, जलवायु तथा मौसमसम्बन्धी पक्षको विश्लेषण गरिनेछ। सम्भावित उद्गमस्थलको स्थलगत निरीक्षणसँगै ड्रोन तथा स्याटेलाइटबाट प्राप्त तस्बिर र तथ्यांकसमेत प्रयोग गरिने मन्त्रालयले जनाएको छ।
पहिलो चरणमा बाढी सुरु भएको समयदेखि त्यसले पुर्याएको क्षतिसम्मको घटनाक्रम तयार गरिनेछ। त्यसपछि बाढीको तत्कालीन र मूल भौतिक कारण पहिचान गरिनेछ। अन्तिम चरणमा जलवायु परिवर्तनको सम्भावित भूमिकाबारे वैज्ञानिक मूल्यांकन गरिनेछ।
भोटेकोशी–ल्हेन्दे नदी प्रणाली चीनसँग समेत जोडिएकाले अध्ययनमा चिनियाँ वैज्ञानिक तथा जलविज्ञानसम्बन्धी तथ्यांकलाई समेत समेट्ने तयारी छ। विज्ञ समितिलाई करिब दुई महिनाको समय दिने तयारी गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij