२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चिलिमे जलविद्युत्त आयोजनाको सुरुङभित्र ठुला ढुङ्गा भेटिएको छ । हेभी इक्विपमेन्टले सुरुङभित्र डेब्रिट हटाउँदै जाँदा ठुला ढुङ्गा भेटिएको सैनिक प्रवक्ता ९सहायकरथी० राजाराम बस्नेतले बताएका छन् ।
ठुला उपकरणले सुरुङको मुखबाट ९० मिटर भित्रसम्मको गेग्रान हटाएको छ । अहिले सुरुङभित्र एउटा स्काभेटर र एउटा लोडरले काम गरिरहेको छ । सेनाले स्याफ्रुवेशीदेखि टनेलसम्म १ हजार ५० मिटर बाटो बनाएर ठुला उपकरण लगेको हो ।
उद्धारकर्मीहरूले ४ वटा ठुला पाइप प्रयोग गरेर टनेलभित्र हिँड्न मिल्ने बाटो बनाएर ठुला उपकरण नपुगेको ठाउँमा पनि खोजी गरिरहेका छन् । चिलिमेमा सेना, सशस्त्र प्रहरी र भारतीय विशेषज्ञहरू खटिएका छन् । उद्धारकर्मीहरूले भूमिगत विद्युत्तगृह नजिकै खोजी कार्य जारी राखेका छन् ।
सुरुङ साँघुरिएको स्थानको करिब १२० मिटर भित्रबाट आवाज पठाउँदा त्यसको इको सुनिएको हुनाले सुरुङमा फसेकाहरूको सकुशल उद्धार हुनसक्ने पूर्व उर्जामन्त्री कुलमान घिसिङले बताएका छन् ।
सुरुङ साँघुरिएको भागमा ठुलो ढुङ्गा गएर अड्किएको हुनाले त्यसलाई पन्छाउने प्रयास भइरहेको सैनिक अधिकृतहरू बताउँछन् । २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनाको सुरुङमा ८ जना फसेको आकलन गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij