२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुला गरिने भएको छ। यस वर्ष भदौ २९ गते परेको तीजका लागि विशेष पूजा तथा दर्शनको व्यवस्थासमेत मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
तीजमा पशुपतिनाथ दर्शन गर्न ठूलो संख्यामा भक्तजन आउने भएकाले दर्शनार्थीको व्यवस्थापनका लागि विशेष तयारी गरिएको कोषले जनाएको छ। मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि आठ वटा लाइनबाट दर्शन गर्ने व्यवस्था मिलाइएको छ।
तीजमा महिलाको सहभागिता उल्लेख्य हुने भएकाले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन महिला सुरक्षाकर्मीको संख्या बढाएर परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ।
त्यस्तै, भीडभाड र सवारी चापलाई व्यवस्थापन गर्न पार्किङको समेत छुट्टै व्यवस्था गरिएको छ। विशिष्ट व्यक्तिका सवारी साधनका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालय परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ।
अन्य सवारी साधनका लागि भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ, तिलगंगा तथा उमाकुण्ड पार्किङस्थल तोकिएको छ।
तीजका दिन पशुपति क्षेत्रमा हुने सम्भावित भीडलाई मध्यनजर गर्दै दर्शनार्थीलाई सहज रूपमा मन्दिर प्रवेश र दर्शन गराउने तथा सुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने गरी तयारी गरिएको कोषले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij