२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका व्यक्तिलाई उपचारका लागि लैजाने भन्दै हिँडेका चालकले सडकमै छाडेर फरार भएपछि वृद्धको मृत्यु भएको छ ।
आइतबार बिहान विराटनगर महानगरपालिका–९ स्थित ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ निवासी ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी ठक्कर दिने सफारीमा राखेर उपचारका लागि कोशी अस्पताल पठाएका थिए । तर, चालकले घाइते बस्नेतलाई अस्पताल पुर्याएनन् । विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भए ।
मालपोत कार्यालय कोशी अस्पताल नजिकै छ । बिहान सिमसिम पानी परिरहेको समयमा मालपोत कार्यालयनजिकै बस्नेत मृत अवस्थामा भेटिएका थिए । सुरुमा पहिचान खुलेको थिएन । पहिचान खुलेपछि बास्तविकता बाहिर आएको हो ।
घटनालगत्तै प्रहरीले सिटी सफारीसहित फरार चालकको खोजी तीव्र बनाएको थियो। खोजीका क्रममा आइतबार बिहान करिब ८स्३० बजे चालक ५५ वर्षीय अर्जुन भगत मोरङको कटहरी गाउँपालिका–२ स्थित आफ्नै घरबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका भगतलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij