२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि भासिएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङमार्फत सडक खोल्ने काम अघि बढाएको छ।
सडक भासिएको स्थानमा तत्काल पर्खाल निर्माण गरेर यातायात सञ्चालन गर्न कठिन भएपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियर टोली परिचालन गरिएको हो। सेनाको प्राविधिक टोलीले क्षतिग्रस्त सडकको भाग हटाएर नयाँ ट्र्याक निर्माण गर्ने उद्देश्यले ब्लास्टिङको काम गरिरहेको छ।
गत भदौ १० गते रसुवा क्षेत्रमा आएको ठूलो बाढीपछि त्रिशूली नदीको बहाव बढ्दा पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक कटान भएको थियो। धादिङको शीतल बजारसँगै कृष्णभीर र परेवा भीरलगायतका क्षेत्रमा सडक भासिँदा काठमाडौं–चितवन तथा काठमाडौं–पोखरा आवागमनमा गम्भीर असर परेको छ।
विशेषगरी शीतल बजारमा नदीतर्फको सडकको ठूलो भाग कटानमा परेर भासिएकाले सामान्य मर्मतबाट तत्काल सडक सञ्चालन गर्न कठिन देखिएपछि ब्लास्टिङमार्फत नयाँ सडक संरचना तयार गर्न लागिएको हो।
सडक खुलाउन नेपाली सेना, सडक विभाग र प्राविधिक टोलीबीच समन्वय भइरहेको छ। ब्लास्टिङपछि सडक सतह व्यवस्थापन, आवश्यक संरचना निर्माण र यातायात सञ्चालनका लागि थप काम गरिने जनाइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij