Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रोकिएको करदाता उपहार घोषणा असोज १ मा, ३३ जनालाई पुरस्कार प्रदान गरिने

रोकिएको करदाता उपहार घोषणा असोज १ मा, ३३ जनालाई पुरस्कार प्रदान गरिने


  • 1.2K
    Shares

    रोकिएको करदाता उपहार घोषणा असोज १ मा, ३३ जनालाई पुरस्कार प्रदान गरिने
    images

    काठमाडौं । भोटेकोसी बाढीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आउँदो असोज १ गते हुने भएको छ।

    करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन चालु आर्थिक वर्षको बजेटमार्फत उपहार कार्यक्रम ल्याइएको थियो। साउन १ गतेबाट सुरु भएको प्रोत्साहन कार्यक्रमअन्तर्गत भदौ १६ गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोसी बाढीका कारण रोकिएको थियो। 

    अब भदौ महिनाभरिको पुरस्कारको असोज १ गते घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालयअन्तर्गतको आन्तरिक राजस्व विभागले जनाएको छ। विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार, पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु खरिद गरेका उपभोक्तामध्येबाट विजेता घोषणा गरिनेछ। हरेक दिनको एक जनाका हिसाबले १५ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँका दरले विजेता छनोट गरिनेछ।

    यस्तै, भदौ १ देखि १५ गतेसम्म कारोबारमा संलग्न उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनोट गरिनेछ। त्यसपछि दोस्रो चरणमा, भदौ १६ देखि ३१ गतेसम्मका १६ दिनका लागि १६ जनालाई एक लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कारका लागि छनोट गरिने उनले जानकारी दिए। 

    त्यस्तै, भदौ महिनाको दोस्रो १६ दिनका उपभोक्तामध्येबाट एक जनालाई १० लाख रुपैयाँ राशिको बम्पर विजेता छनोट गरिनेछ।  सबै गरेर असोज १ गते भदौ महिनाका एक लाख ३३ हजार ३३४ रुपैयाँका ३१ जना र १०–१० लाख रुपैयाँका दुई जना बम्पर विजेता गरी जम्मा ३३ जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ।

    दुवै पुरस्कार रकममा २५ प्रतिशत कर लाग्नेछ। हरेक दिनका एक लाख ३३ हजार ३३४ रुपैयाँका विजेताले कर कटाएर एक लाख र १० लाखका विजेताले सात लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

    पुरस्कारका लागि योग्य हुन उपभोक्ताले अनिवार्य रूपमा एक सय रुपैयाँभन्दा बढीको वस्तु खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्छ। कारोबार गर्दा सकेसम्म अनलाइन भुक्तानी गर्नुपर्छ। 

    विभागका अनुसार अनलाइनमार्फत गरिएको कारोबार स्वतः सरकारको करदाता प्रोत्साहन प्रणालीमा समावेश हुन्छ। नगदमा कारोबार गरेर सक्कली बिल लिएका उपभोक्ताले भने आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गई आफूले प्राप्त गरेको बिल अपलोड गरेर पुरस्कारका लागि योग्य बन्न कुपन लिनुपर्छ।

    प्रकाशित मिति :भाद्र २७ २०८३ शनिवार - १६:२४:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij