२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौं महानगरपालिकाले जलनमा परेका व्यक्तिको दुई लाख रुपैयाँसम्म निःशुल्क उपचार गराउने भएको छ।
जनल उपचारका लागि शुक्रबार काठमाडौँ महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट)बीच सम्झौता भएको छ। महानगरको स्वास्थ्य विभागका प्रमुख दिपककुमार केसी र अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल रोहबरमा बसेका छन्।
सम्झौताअनुसार, अब कीर्तिपुर अस्पतालमा अति विपन्न, हिंसापीडित तथा बेवारिसे बिरामीलाई महानगरको स्वास्थ्य शिक्षा समितिको सिफारिशमा सेवा प्रदान गरिनेछ। यस्तै काठमाडौं महानगरभित्र बसोबास गर्ने स्थायी बासिन्दा, कानुन बमोजिम बसाइँसराइ गरी आएका व्यक्ति, महानगरका जनप्रतिनिधि, कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई पनि यो सेवा प्रदान गरिने भएको छ।
जलनको उपचारका लागि प्रति व्यक्ति दुई लाख रुपियाँसम्म खर्च कोषबाट बेहोरिने भएको छ। कोषको रकम उपचारका लागि मात्र प्रयोग गरिनेछ। उपचारका लागि प्रयोग हुने औजार, उपकरण तथा निःशुल्क उपचार सेवा सञ्चालन गर्न महानगरले अस्पताललाई दुई करोड रुपैयाँ प्रदान गरेको छ। यसमध्ये जलन उपचार कोषका लागि एक करोड रुपैयाँ दिइएको हो।
कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले भनिन्, ‘कसैले जलन भोग्नु नपरोस्। भवितव्य पर्यो भने पैसा नभएर अस्पताल नलैजाने अवस्था नआओस्। बल्ल बल्ल अस्पताल पुर्याएपछि विरामी छोडेर पैसाको खोज्न जानु नपरोस्। यसका लागि कोषको व्यवस्था गरेका हौँ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij