२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालका लागि अमेरिकी दूतावासकी नवनियुक्त कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गरेकी छिन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा कार्यवाहक राजदूत बोल्डिनले हालैको भोटेकोशी बाढीबाट प्रभावित तथा पीडितप्रति गहिरो समवेदना व्यक्त गर्दै यस कठिन घडीमा नेपालको साथमा रहेको बताइन् ।
बाढीबाट उत्पन्न परिस्थितिपछि राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा नेपाललाई सहयोग र समर्थन गर्न अमेरिकी सरकार तयार रहेको बताउँदै उनले नेपालको यस पिडामा हरेक प्रकारको सहयोग गर्न तत्पर रहेको बताएकी परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले यस कठिन समयमा नेपालप्रति ऐक्यबद्धता र सहयोग व्यक्त गरेकोमा अमेरिकी सरकार तथा अमेरिकी जनताप्रति आभार व्यक्त गरेका छन् ।
खोज तथा उद्धार कार्य जारी नै रहेको अवस्थामा कार्यवाहक राजदूत बोल्डिनले हराइरहेका अमेरिकीहरूका साथै यस दुःखद घटनाका अन्य पीडितहरूको खोजी गर्ने असाधारण प्रयासहरूका लागि नेपाल सरकारप्रति आभार पनि प्रकट गरेकी अमेरिकी दूतावासले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij