Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

गरिमा चौधरी हत्या प्रकरण : अदालतको यस्तो आदेश, के छ आधार ?

गरिमा चौधरी हत्या प्रकरण : अदालतको यस्तो आदेश, के छ आधार ?


  • 1.7K
    Shares

    गरिमा चौधरी हत्या प्रकरण : अदालतको यस्तो आदेश, के छ आधार ?
    images

    काठमाडौं । बारा जिल्ला अदालतले ३ वर्षीय बालिका अपहरण, जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दाका मुख्य प्रतिवादी प्रोगेश चौधरी (पुरग्रेश चौधरी) लाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

    जिल्ला अदालतका न्यायाधीश प्रकाशकुमार अधिकारीको एकल इजलासले चौधरीलाई धरौटीमा छाड्न तथा मुद्दाका अन्य ९ जना प्रतिवादीलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको हो ।

    अदालतले प्रोगेशले आरोप अस्वीकार गरे पनि घटनास्थल भनिएको घरमा बिजुलीको बत्ती बाल्न गएको स्वीकार गरेको र घटनास्थलबाट बालिकाको शव बरामद भएको लगायतका आधारमा तत्काल प्राप्त प्रमाणबाट उनको संलग्नता नरहेको भन्न सकिने अवस्था नदेखिएको ठहर गरेको छ ।

    त्यसैका आधारमा प्रमाण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिताबमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत माग गरिएको अदालतको आदेशमा उल्लेख छ ।

    इन्द्रजीत चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नबिन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सविता चौधरी र बिन्दु देवी चौधरीलाई भने प्रत्यक्ष प्रमाणको अभाव देखाउँदै साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

    उनीहरूले आरोप अस्वीकार गरेको तथा अनुसन्धानबाट मुख्य कसुरमा सहयोग गरेको, साधन–स्रोत उपलब्ध गराएको वा प्रमाण लोप गरेको पुष्टि हुने पर्याप्त प्रमाण मिसिलमा नदेखिएको अदालतको ठहर छ ।

    यसै मुद्दामा नाबालक आरोपी नरवस्ती (क) को हकमा भने अदालतको आदेशमा धरौटी वा साधारण तारेखबारे स्पष्ट उल्लेख गरिएको छैन ।

    गत साउन ३१ गते बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरबाट हराएकी ३ वर्षीय बालिका भोलिपल्ट छिमेकी वीरबहादुर रोक्काको खाली घरभित्र मृत अवस्थामा फेला परेकी थिइन् । बालिकालाई अपहरण गरी जबरजस्ती करणीपछि हत्या गरिएको अभियोगमा प्रहरीले अनुसन्धान गरी मुद्दा दायर गरेको थियो ।

    घटनालाई लिएर बारा र काठमाडौंमा समेत प्रदर्शन तथा आन्दोलन भएको थियो । अदालतले फरार रहेका अन्य प्रतिवादीको हकमा कानुनबमोजिम म्याद जारी गरी नियमानुसार पेस गर्नसमेत आदेश दिएको छ ।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १४:४७:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij