Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी र त्रिशूली बाढीको कहर: डेढ लाख नागरिक प्रभावित, २५ जनामा झाडापखाला संक्रमण

भोटेकोशी र त्रिशूली बाढीको कहर: डेढ लाख नागरिक प्रभावित, २५ जनामा झाडापखाला संक्रमण


  • 379
    Shares

    भोटेकोशी र त्रिशूली बाढीको कहर: डेढ लाख नागरिक प्रभावित, २५ जनामा झाडापखाला संक्रमण
    images

    काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा करिब डेढ लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आँकलन गरिएको छ।

    शुक्रबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटाले उक्त तथ्यांक प्रस्तुत गरेका हुन्।

    बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरूमार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उनले जानकारी दिए।

    प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएकामध्ये २५ जनालाई झाडापखाला लागेको सचिव देवकोटाले समितिलाई जानकारी गराए।

    यद्यपि, समितिमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले झाडापखालाबाहेक अन्य गम्भीर प्रकृतिका महामारी वा रोगको संक्रमण भने हालसम्म देखा नपरेको स्पष्ट पारे।

    ‘जलवायु अनुकूल संरचनाको गुरुयोजना बन्दै’

    बाढीको पछिल्लो विपद्बाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै सचिव देवकोटाले आगामी दिनमा निर्माण हुने संरचनाहरूलाई जलवायु अनुकूल बनाउनुपर्नेमा जोड दिएका छन्। भौगोलिक अवस्था र तापक्रमअनुसार भवन निर्माणको अवधारणा अघि बढाउनुपर्ने उनको भनाइ छ।

    ‘अब स्वास्थ्य मन्त्रालयबाट बन्ने घर वा संरचनाहरू कस्तो भौगोलिक अवस्थामा बन्छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। तापक्रम धेरै भएको ठाउँमा बन्ने संरचना र चिसोमा बन्ने संरचना फरक हुनुपर्छ,’ बैठकमा उनले भने, ‘अब सबै क्षेत्रले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ।’

    नयाँ संरचना निर्माण गर्दा स्वास्थ्य समस्या पर्दा सहज रूपमा सेवा लिन सकिने गरी नजिकका स्वास्थ्य सुविधाको अवस्थालाई समेत आधार बनाउनुपर्नेमा उनले जोड दिए।

    मन्त्रालयले पुनर्स्थापना र पुनर्निर्माणका लागि जलवायु अनुकूल संरचनासहितको गुरुयोजना निर्माण गरिरहेको र उक्त गुरुयोजना पूरा भएपछि संसदीय समितिमा पेस गर्ने सचिव देवकोटाले प्रतिबद्धता जनाएका छन्।

    प्रकाशित मिति :भाद्र २६ २०८३ शुक्रवार - १४:२१:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij