२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बजारमा देखिएको एलपी ग्यासको अभाव, वितरण प्रणालीमा देखिएका समस्या र सहज आपूर्तिका विषयमा छलफल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आज उद्योगीहरूसँग छलफल गर्ने भएका छन् ।
मन्त्री साहले आज बेलुकी ५ बजे ग्यास उद्योगी तथा सम्बन्धित व्यवसायीहरूलाई छलफलका लागि बोलाएका हुन् । पछिल्लो समय ग्यासको अभावका कारण नागरिकहरू घण्टौँ लाइनमा बस्नुपरेको तथा विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो आएपछि मन्त्री साहले आपूर्ति व्यवस्थाप्रति चासो देखाएका हुन् ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार बैठकमा बजारमा देखिएको ग्यास अभाव, सहज वितरण र आपूर्ति व्यवस्थामा देखिएका समस्याबारे गम्भीर छलफल हुनेछ ।
उनका अनुसार सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि ग्यास वितरण प्रणालीमा अझै सुधार आवश्यक देखिएको छ । बैठकमा आपूर्ति सहज बनाउन तत्काल चाल्नुपर्ने कदमबारे समेत छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij