२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालले भर्ना नलिएपछि स्थानीय महिलाले फुटपाथमै बच्चा जन्माएको घटनाको छानबिन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टोली परिचालन गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा समितिको बैठकमा स्वास्थ्य मन्त्री निशा मेहताले घटना सार्वजनिक भएलगत्तै नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रारको नेतृत्वमा पाँच सदस्यीय ‘एथिकल कमिटी’ र मन्त्रालयका ११औँ तहका अधिकारी डा. पवन रायमाझीसहितको संयुक्त छानबिन टोली गठन गरिएको जानकारी दिइन् ।
मन्त्री मेहताका अनुसार टोलीलाई तत्काल सत्यतथ्य पत्ता लगाउन राजविराज पठाइएको छ । स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, नर्सिङ वा पारामेडिक्स जोसुकैको गल्ती वा कमजोरी देखिए पनि कानुनअनुसार कडा कारबाही गरिने उनले प्रतिबद्धता जनाइन् ।
बैठकमा सांसद रमेश मल्लले संघीय सरकार मातहतको अस्पतालमा यस्तो गम्भीर घटना हुनु दुःखद भएको भन्दै दोषीमाथि शीघ्र अनुसन्धान गरी कडा कारबाही गर्न माग गरे । साथै, सरकारी अस्पतालमा यस्ता घटना दोहोरिन नदिन मन्त्रालयले ठोस योजना बनाउनुपर्ने उनले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij