२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा जलेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ। मृतक कार चालक अमर पराजुली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
शुक्रबार बिहान करिब ६ बजे पूर्व–पश्चिम राजमार्गको बसन्तचोकस्थित सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र.०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको थियो। स्थानीयका अनुसार कार गुडिरहेकै अवस्थामा आगलागी भएको हो।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका थिए। अनुसन्धानका क्रममा मृतक पराजुली रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पराजुली नारायणी विद्या मन्दिर, शिवघाटका पूर्व सञ्चालक समेत हुन्। उनी बिहान कार चलाएर हेटौँडाबाट भरतपुरतर्फ आउँदै थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij