२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनरुत्थानका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन (आरडिएनए) प्रतिवेदनले यस्तो अनुमान गरेको हो।
प्रतिवेदनअनुसार सबैभन्दा ठूलो आवश्यकता पूर्वाधार पुनरुत्थानमा देखिएको छ। यसका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ।
बाढीबाट ७५९ मेगावाट क्षमताका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका पाँच सोलार प्लान्ट प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानमा ३ खर्ब ९० अर्ब ६२ करोड रुपैयाँभन्दा बढी लाग्ने आकलन गरिएको छ।
यस्तै, ६९ किलोमिटर सडक र ३३ वटा मोटरेबल पुलमा पूर्ण क्षति पुगेको छ भने चार पुलमा आंशिक क्षति भएको छ। ५३ वटा झोलुङ्गे पुलसमेत प्रभावित भएका छन्। यातायात पूर्वाधार पुनरुत्थानका लागि ७३ अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा ७ हजार ५७० निजी घर क्षतिग्रस्त भएका छन्। ४८ सार्वजनिक भवन, १८ विद्यालय, सात स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा पनि क्षति पुगेको छ।
उत्पादन तथा व्यापार क्षेत्रमा ५० अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ। यसअन्तर्गत १ हजार ८०६ हेक्टर कृषि बाली, १७ बैंक शाखा र ४ हजार ८०० व्यापारिक प्रतिष्ठान प्रभावित भएका छन्।
प्रतिवेदनले तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि आगामी ६ महिनामा ८ अर्ब ७३ करोड ५० लाख रुपैयाँ र दीर्घकालीन पुनर्निर्माणका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ आवश्यक पर्ने जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij