२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूलाई लक्षित गरी दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति नागरिक अगुवा तथा अधिकारकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्।
भदौ २३ गते गृहमन्त्री गुरुङले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै उनीहरूले त्यसलाई तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
शान्ति सुरक्षा तथा विपद् व्यवस्थापनजस्तो संवेदनशील जिम्मेवारी सम्हालेका गृहमन्त्रीको आक्रामक अभिव्यक्तिले पदको मर्यादा, संयम र गाम्भीर्यमाथि प्रश्न उठाएको उनीहरूको भनाइ छ। गृहमन्त्रीको चयन तथा उनीमाथि लागेका आरोपको अनुसन्धानसमेत शंकाको घेरामा रहेको अवस्थामा प्रेसमाथि धम्की र आक्रमण स्वीकार्य नहुने उनीहरूले बताएका छन्।
राज्य संयन्त्रलाई जवाफदेही बनाउन पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै नागरिक अगुवाहरूले पञ्चायतकालदेखि विभिन्न कठिनाइ र धम्कीका बाबजुद नेपाली सञ्चार क्षेत्रले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको स्मरण गराएका छन्।
द्वन्द्वकाल, दरबार हत्याकाण्डदेखि संविधान निर्माणसम्मका जटिल राजनीतिक परिस्थितिमा सञ्चारजगतले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै उनीहरूले पत्रकारहरू धम्कीबाट हतोत्साहित नहुने विश्वास व्यक्त गरेका छन्।
सुन काण्ड, नक्कली शरणार्थी प्रकरण र सहकारी काण्डजस्ता विषयमा सत्यतथ्य बाहिर ल्याउन पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै उनीहरूलाई धम्क्याउनु निन्दनीय भएको वक्तव्यमा उल्लेख छ।
साथै नागरिक अगुवाहरूले सञ्चारकर्मीहरूलाई पनि पत्रकारिता आचारसंहिताको पालना गर्दै जिम्मेवार र तथ्यपरक ढंगले समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन्।
वक्तव्यमा पूर्वराष्ट्रिय मानव अधिकार आयोग आयुक्त सुशिल प्याकुरेल, मानवअधिकारकर्मी शोभाकर बुढाथोकी, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, महिला अधिकारकर्मी श्याम कुमारी साह, मानवअधिकारकर्मी सोम निरौला, सुबोध प्याकुरेल र युवा अभियन्ता अभिषेक अधिकारीले हस्ताक्षर गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij