२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर गरिएको रिट निवेदन खारेज गरेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै पूर्वप्रधानन्यायाधीश जबराले पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र बिनोद शर्माको संवैधानिक इजलासले जबराविरुद्धको रिट खारेज गर्ने निर्णय गरेको हो।
महाभियोगका कारण निलम्बित अवस्थामै अवकाश भएका जबराले हालसम्म पेन्सनपट्टालगायतका सुविधा पाएका थिएनन्। उनीविरुद्धको महाभियोग टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो।
त्यसपछि संघीय संसद्का महासचिव भरतराज गौतमले जबराको निलम्बन फुकुवा हुने भन्दै सर्वोच्च अदालतमा पत्र पठाएका थिए। उक्त पत्रविरुद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले रिट दायर गरेका थिए।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चको संवैधानिक इजलासले संघीय संसद् सचिवालयको पत्र कार्यान्वयन नगर्नू, नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको थियो। सोही अन्तरिम आदेशका कारण जबरा हालसम्म निलम्बित अवस्थामा थिए।
अब रिट खारेज भएसँगै जबराले पूर्वप्रधानन्यायाधीशका रूपमा पाउने पेन्सन तथा अन्य सुविधाका लागि बाटो खुलेको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij