Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति भन्न मिल्दैन : रवि लामिछाने

भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति भन्न मिल्दैन : रवि लामिछाने


  • 533
    Shares

    भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपत्ति भन्न मिल्दैन : रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्तिका रूपमा मात्रै हेर्न नमिल्ने बताएका छन्।

    प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै लामिछानेले भोटेकोशी बाढीबाट भएको क्षति जलवायु संकटको असमान भारका कारण उत्पन्न भएको बताए।

    ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु संकटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो,’ उनले भने।

    नेपालजस्ता मुलुकहरूले जलवायु परिवर्तनमा आफ्नो योगदान न्यून भए पनि त्यसको गम्भीर असर भोग्नुपरिरहेको लामिछानेको भनाइ थियो। उनले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको मुद्दा सशक्त रूपमा उठाउनुपर्ने बताए।

    ‘हामी अब जलवायु न्याय माग्छौँ। यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,’ लामिछानेले भने।

    उनले जलवायु परिवर्तनबाट भएको क्षतिको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्नेमा जोड दिए। नेपालले जलवायु परिवर्तनको मुद्दामा आफ्नो आवाज थप सशक्त बनाउनुपर्ने उनको भनाइ थियो।

    विपद्को समयमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको समेत लामिछानेले प्रशंसा गरे। ठूलो संकट र अपूरणीय क्षति व्यहोर्दा पनि प्रभावितहरू एकअर्काको साथमा उभिनु साहस र एकताको उदाहरण भएको उनले बताए।

    लामिछानेले भोटेकोशीसहित देशभरका बाढी तथा पहिरोपीडितको राहत, उद्धार र पुनर्स्थापनामा सरकार गम्भीर हुनुपर्ने बताए। साथै, विपद्को विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ उठाउनुपर्नेमा उनले जोड दिए।

    प्रकाशित मिति :भाद्र २४ २०८३ बुधवार - १४:४१:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij