२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा जारी उद्धार कार्यमा सहयोग गर्न उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वऊर्जामन्त्री कुलमान घिसिङ आज घटनास्थल पुग्दै छन्।
घिसिङको सचिवालयका अनुसार नेपाली सेनाको अनुरोधमा उनी आज बिहान चिलिमेतर्फ प्रस्थान गरेका हुन्। सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि आवश्यक समन्वय तथा प्राविधिक सुझाव दिन उनलाई नेपाली सेनाले बोलाएको हो।
विदेशी विज्ञसहितको उद्धार टोली अहिले सुरुङ छिचोलेर पावर हाउस क्षेत्रमा पुग्ने प्रयासमा जुटेको छ। सुरुङभित्र अझै ६ जना व्यक्ति फसेको अनुमान गरिएको छ।
उद्धार कार्यलाई तीव्रता दिँदै नेपाली सेना, विदेशी विज्ञ तथा प्राविधिक टोलीले सुरुङको अवस्था अध्ययन गरी सुरक्षित रूपमा भित्र प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
यसैबीच, पूर्वऊर्जामन्त्री घिसिङको उपस्थितिले उद्धार कार्यमा आवश्यक प्राविधिक तथा व्यवस्थापकीय समन्वयमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij