२०८३ आश्विन १ गते बिहिवार
गोरखा । पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिर र जोगिमारामा पहिरोको कारण सडक अवरुद्ध हुने जोखिम बढेपछि त्यसको विकल्पको रूपमा त्रिशुली नदीको वारीतर्फ गोरखातर्फको १९ किलोमिटर सडक स्तरोन्नतिको काम सुरु भएको छ ।
गण्डकी गाउँपालिका– ६ पल्लोटारदेखि वडा नम्बर ८ सिउरेनीटारसम्म जोड्ने सडकलाई तत्काल सञ्चालनमा ल्याउनेगरी बिहीबारदेखि स्तरोन्नति थालिएको हो ।
पृथ्वी राजमार्गको कृष्णभिर क्षेत्रमा बर्सेनि पहिरोका कारण यातायात प्रभावित हुने गरेको छ ।
राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीले लामो समयसम्म सास्ती खेप्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पल्लोटार–कौदी–सिउरेनीटार सडकलाई वैकल्पिक मार्गका रूपमा विकास गर्न लागिएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमेल्सनाले बताए ।
उनका अनुसार गण्डकी गाउँपालिका–६ गढाई, पल्लोटार, कौदी हुँदै बेनीघाट निस्कने करिब १९ किलोमिटर सडकलाई तत्काल सवारी सञ्चालन गर्न मिल्नेछ । “पारीपट्टीको सबैभन्दा क्षति पुगेको कृष्णभिर र जोगिमारामा पहिरोको समस्या छ ।
जसकारण राजमार्गको विकल्पका रूपमा गोरखातर्फको उक्त सडक उपयुक्त हुन्छ,” उनले भने, “हप्ता दश दिनभित्र गाडी चल्ने गरी स्तरोन्नतिका लागि चारवटा मेसिन परिचालन गरिएको छ ।”
सडक सञ्चालनमा आएमा पृथ्वी राजमार्गको कृष्णभिर क्षेत्रमा हुने अवरोधका बेला यात्रु तथा मालवाहक सवारीलाई ठुलो राहत पुग्ने अपेक्षा गरिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij