२०८३ आश्विन १ गते बिहिवार
१. नेकपाका नेता अशोक यादव पक्राउ
नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई पक्राउ गरिएको पुष्टि गरे । यादव पक्राउ पर्नुको कारण भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका तत्कालीन एसपी योगेन्द्रकुमार खड्कालाई धम्क्याएको आरोप छ । यो घटना २०८२ असारको हो । यादवले टेलिफोनमा अपशब्द प्रयोग गर्दै एसपी खड्कालाई तराइमा लुट्न आएको लुटेरा भन्दै धम्क्याएको अडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
२. रसुवा बाढी अपडेटः १३५७ जनाको मृत्यु पुष्टि, ५३२६ अझै सम्पर्कविहीन
भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये १ हजार ३ सय ५७ जनाको शव फेला परेको छ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो । २०८३ भदौ २३ गते अपरान्ह १ः०० बजेसम्मको अद्यावधिक तथ्याङ्कअनुसार बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १ हजार ३ सय ५७ पुगेको छ । प्राधिकरणकाअनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरुको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ । चितवनमा ३ सय ६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ । हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ ।
३. भोटेकोशी बाढी प्रभावित क्षेत्रका विद्यार्थीलाई तत्काल पठनपाठन र अभिभावकत्वको आवश्यकताः राष्ट्रिय अभिभावक संघ
नेपाल राष्ट्रिय अभिभावक संघले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका विद्यार्थीको पठनपाठन तत्काल सुचारु गर्न र उनीहरूलाई आवश्यक भावनात्मक तथा भौतिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेको छ । रोल...
मंगलवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष श्याम शर्मा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बाढीका कारण विद्यालयका भौतिक संरचनाहरू पूर्ण रूपमा पुनर्निर्माण गर्न तत्काल सम्भव नभएकाले वैकल्पिक व्यवस्था गरेर भए पनि पठनपाठन अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
४. पद मेरो लागि घमण्ड नभई जिम्मेवारी होः गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले राजकीय पद आफ्नो लागि घमण्डको विषय नभई जनताप्रतिको गहन जिम्मेवारी भएको बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित ‘जेन–जी’ शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गुरुङले आफूले पद र शक्तिको कहिल्यै अहंकार नगरेको उल्लेख गर्दै नागरिकको दुःखमा साथ दिनु सरकारको प्राथमिक कर्तव्य भएको स्पष्ट पार्नुभयो । आफूले जनसरोकारका मुद्दामा देखाएको सक्रियतालाई कतिपयले ‘स्टन्ट’ को संज्ञा दिएको प्रति लक्षित गर्दै उहाँले त्यसलाई अस्वीकार गर्नुभयो ।
५. जेन–जी अभियन्तासँगका १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद खरेलको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले ‘जेन–जी’ आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । मङ्गलवार ललितपुरमा जेन–जी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो माग गर्नुभएको हो । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएको समयमा जेन–जी अभियन्ताहरूसँग निकै मेहनतका साथ १० बुँदे सम्झौता गरिएको स्मरण गर्दै सांसद खरेलले उक्त सम्झौताको कानूनी हैसियत महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । सो सम्झौतालाई कतिपयले ‘कागजको टुक्रा’ को संज्ञा दिए पनि सरकारले राजपत्रमा प्रकाशित गरेर त्यसलाई वैधानिकता दिएको उहाँको भनाइ छ । सम्बोधनका क्रममा खरेलले वर्तमान गृहमन्त्री स्वयं सोही आन्दोलनको नेतृत्वदायी पृष्ठभूमिबाट आएकाले आन्दोलनको मर्म र भावना बुझ्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
६. जनताले काम गर्न पठाएका हुन्, राजीनामा दिन सकिँदैनः गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले कसैले राजीनामा माग्दैमा दिन नसकिने बताउनुभएको छ । मंगलवार ललितपुरमा आयोजित शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आफूहरुलाई जनताले दुई तिहाईको म्याण्डेट दिएर पठाएकाले कसैले राजीनामा माग्दैमा दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले इतिहास र जनमतलाई कसैले फेर्न नसक्ने भन्दै जनताको अटुट विश्वासलाई कदर गर्दै अघि बढ्ने बताउनु भयो । उहाँले आफूहरू राजनीति गरेर शासन गर्न नभई विशुद्ध सेवा गर्ने भावले सरकारमा आएको दाबी गर्नुभयो ।
७. चौथो खेलमा मधेसको पहिलो जित
मधेस वारियर्सले नेपाल भलिबल लिग (एनभिएल) को पहिलो सिजनमा चौथो खेलबाट पहिलो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलवार भएको खेलमा मधेस वारियर्सले खप्तड फाल्कोन्समाथि ३–० को सोझो सेटमा जित निकाल्यो । जितविहीन टोली बीचको प्रतिष्पर्धामा मधेस वारियर्सले पहिलो सफलता पायो । यो खेलअघि दुवै टोली पहिलो जित निकाल्ने लक्ष्य सहित कोटमा उत्रिएका थिए । तर खप्तडको खराब डिफेन्ससँगै विदेशी खेलाडी चल्न नसक्दा हार व्यहो¥यो । खप्तडका कप्तान धीरजकाजी बस्नेतले राम्रो प्रदर्शन गरे पनि जित दिलाउन सकेनन् ।
८. ग्यास नपाएपछि जनताको आक्रोश–‘मरेकालाई खोजिरहेका छन्, जिउँदोलाई मारिरहेका छन्’
काठमाडौं उपत्यकाको बिहानी अचेल चियाको मगमगाउँदो बास्ना वा तातो दूधको उम्लाइबाट शुरु हुँदैन । यो शुरु हुन्छ सडकपेटीमा फलामे साङ्लोले बाँधिएर लामवद्ध बनाइएका रित्ता राता सिलिण्डरहरूको स्तब्ध मौनताबाट । भदौको घामले उपत्यकाको धुलोलाई तताउँदै गर्दा शहरका गल्ली र डिपो अगाडि अनौठो, निर्मम र विरक्तलाग्दो दृश्य देखिन्छ । मानिसहरू आफ्ना कामधन्दा, रोजगारी, कार्यालय र पढाइ छाडेर धातुको गह्रौँ सिलिण्डर घिसार्दै सडकमा उभिएका छन् । सिलिण्डरहरू चोरी हुने डरले बिजुलीका पोल, डिपोका गेट र फलामे रेलिङहरूमा बाक्लो साङ्लो र ताल्चा लगाएर बाँधिएका छन् । त्यो साङ्लो केवल ग्यास सिलिण्डरको सुरक्षा कवच मात्र होइन, एक्काइसौँ शताब्दीको संघीय राजधानीमा बाँधिएको नागरिक स्वाभिमान र तिनका निभेका सपनाहरूको एउटा मौन प्रतिक बनेको छ ।
९.कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त, मर्मत तथा विस्तार कार्य जारी
कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तिब्रता दिइएको छ । यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (¥याम्प) मा पुनः पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ । सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको छ । अवरुद्ध तथा असहज बनेको उक्त खण्डमा सडक विस्तार गरी यातायात सेवालाई पूर्ण रूपमा सुचारु गराउन हाल प्राविधिक जनशक्ति र मेसिनरी प्रयोग गरी काम भइरहेको छ । सडकलाई सुरक्षित र फराकिलो बनाएर जतिसक्दो चाँडो सवारी साधन सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ ।
१०. काँग्रेसको वडा, नगर र प्रदेश अधिवेशनको कार्यतालिका परिमार्जन
नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ । मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो । समितिकाक संयोजक प्रेमबहादुर खड्काले मुलुकमा आइलागेको प्राकृतिक विपत्ति र राष्ट्रिय शोकका कारण यसअघि तय गरिएको निर्वाचन तालिकामा हेरफेर गरिएको जानकारी दिनुभयो । संयोजक खड्काकाअनुसार यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन मुलुकको असहज परिस्थितिका कारण स्थगित गरिएको हो ।
११. केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्रः विदेशी सञ्चारकर्मीद्वारा स्थलगत अवलोकन
चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछिको अवस्था र जारी उद्धार कार्यको वस्तुस्थिति बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले सो क्षेत्रको भ्रमण गरेको छ । उच्च हिमाली क्षेत्रमा हिमनदी (ग्लेसियर) भत्किएका कारण आएको उक्त पहिरोले सीमा क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । यस प्राकृतिक विपद्मा परी ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेहरूमा २३ विभिन्न देशका २६१ विदेशी नागरिक समेत रहेका छन् । उद्धार कार्यको विवरण दिँदै सिजाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले चीनले उद्धारका लागि व्यापक जनशक्ति र प्रविधि परिचालन गरेको जानकारी दिनुभयो ।
१२. चीनमा भवन भत्किँदा पुरिएका ४ जनाको २७ घण्टापछि जीवितै उद्धार
पूर्वी चीनको फुझाउमा अविरल वर्षाका कारण एउटा भवन भत्किँदा पुरिएका चारै जनालाई २७ घण्टा लामो निरन्तरको प्रयासपछि जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले डोरीको सहायताले भग्नावशेषभित्र पसेर खोजी कार्य शुरु गरेका थिए । खोजीका क्रममा तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग गरिएको थियो, जसले अस्थिर र जोखिमपूर्ण संरचनाका बीच फसेका व्यक्तिहरूको पहिचान गर्न सहयोग पु¥याएका थिए । अत्यन्तै कठिन र चुनौतीपूर्ण अवस्थाका बावजुद २७ घण्टाभन्दा बढी समयसम्म खटिएको उद्धार टोलीले भग्नावशेष खनेर चारै जनालाई सकुशल बाहिर निकाल्न सफल भएको हो ।
१३. जर्मनीको राज्य चुनावमा अति दक्षिणपन्थी दल एएफडीको ऐतिहासिक जित
जर्मनीको स्याक्सनी–अनहाल्ट राज्यमा सम्पन्न चुनावमा अति दक्षिणपन्थी दल अल्टरनेटिभ फर जर्मनी (एएफडी) ले ऐतिहासिक जित हासिल गरेको छ । सार्वजनिक प्रशारण संस्था एआरडीले सार्वजनिक गरेको एक्जिट पोलअनुसार एएफडीले ४४.४ प्रतिशत मत प्राप्त गर्दै कीर्तिमानी नतिजा निकालेको हो । वर्तमान राज्य प्रमुख स्वेन शुल्जेको नेतृत्वमा रहेको क्रिस्टियन डेमोक्र्याटिक युनियन (सीडीयू) ले यस निर्वाचनमा ठूलो धक्का व्यहोरेको छ । सन् २०२१ को निर्वाचनमा ३७.१ प्रतिशत मत ल्याएको सीडीयू यसपटक १८.४ प्रतिशतमा खुम्चिएको छ ।
१४. ज्वालामुखी विस्फोटका कारण इण्डोनेसियामा चार विमानस्थलको उडान निलम्बन अवधि थप
इण्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखी पुनः विस्फोट भई खरानी उडेपछि अधिकारीहरूले चारवटा विमानस्थलको उडान निलम्बन अवधि थप गरेका छन् । विमानस्थल सञ्चालक संस्था अङ्कासा पूरा इण्डोनेसियाकाअनुसार जाकार्तास्थित सोकार्नो–हट्टा र हालिम पेरडानाकुसुमा, लाम्पुङको राडिन इन्टेन २ तथा बान्डुङको हुसेन सास्त्रनेगरा विमानस्थलमा उडान सेवा स्थगित गरिएको छ । मौसम विज्ञान, जलवायु तथा भूभौतिकी निकायकाअनुसार सोमबार बिहानको भू–उपग्रह तस्बिरमा ज्वालामुखीको खरानीका दुईवटा झुप्पा अझै पनि जाकार्तातर्फ बहिरहेको देखिएको छ । अनाक क्राकाटाउको पछिल्लो सक्रियताका कारण गत सप्ताहान्तमा १,५०० भन्दा बढी उडानहरू अवरुद्ध भएका थिए, जसबाट करिब १ लाख ७० हजार यात्रु प्रभावित भएको बताइएको छ ।
१५. टर्किएद्वारा आर्थिक लक्ष्यहरू परिमार्जनः मुद्रास्फीति बढ्ने र आर्थिक वृद्धि घट्ने प्रक्षेपण
टर्किए सरकारले भूराजनीतिक जोखिमका कारण उत्पन्न चुनौतीहरूलाई मध्यनजर गर्दै सन् २०२७–२०२९ का लागि नयाँ मध्यमकालीन आर्थिक कार्यक्रम सार्वजनिक गरेको छ । आईतवार घोषित उक्त कार्यक्रममा आगामी वर्षहरूका लागि मुद्रास्फीति र आर्थिक वृद्धिका लक्ष्यहरूमा उल्लेख्य परिमार्जन गरिएको छ । नयाँ प्रक्षेपणअनुसार सन् २०२६ का लागि मुद्रास्फीतिको अनुमानित दर यसअघिको १६ प्रतिशतबाट बढाएर २८.४ प्रतिशत पु¥याइएको छ । त्यसैगरी, सोही अवधिका लागि आर्थिक वृद्धिको लक्ष्य ३.८ प्रतिशतबाट घटाएर ३.३ प्रतिशत कायम गरिएको छ ।
१६. दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी
दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा एक बहुतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दिल्ली सरकारका एक अधिकारीकाअनुसार आईतवार दिउँसो भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ । आईतवार दिउँसो करिव १ः३० बजे भवनको बेसमेन्टमा मर्मत कार्य भइरहेका बेला उक्त संरचना भत्किएको आधिकारिक स्रोतले जनाएको छ । मृत्यु हुनेहरूमा केही विद्यार्थी समेत रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
१७. पूर्वी चीनको जियान्ग्सी प्रान्तमा पहिरोका कारण चार जनाको मृत्यु, उद्धार र राहत कार्य तिब्र
पूर्वी चीनको जियान्ग्सी प्रान्तस्थित सुइचुआन काउन्टीमा शनिवार गएको भीषण पहिरो र लेदोसहितको बाढीमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ । स्थानीय अधिकारीहरूले चार जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अन्य नौ जना बेपत्ता रहेका छन्। त्यसैगरी, सोही काउन्टीको जोआन टाउनस्थित याङफेन गाउँमा शनिवार दुई जना बेपत्ता भएका थिए, जसमध्ये एक जनाको शव आईतवार दिउँसो फेला परेको स्थानीय सरकारले जनाएको छ ।
हाल प्रभावित क्षेत्रहरूमा उद्धार कार्य र विस्थापितहरूको व्यवस्थापन जारी छ ।
१८. ‘हामी कसैसँग राजनीति सिक्न आएका होइनौं, सिकाउन आएका हौँः गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले राजनीतिमा नयाँ पुस्ता सिक्न नभई सिकाउन आएको दाबी गर्नुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले नयाँ पुस्ता पुरानो राजनीतिक शैली सिक्न नभई त्यसलाई सच्याउन आएको बताउनुभएको हो । नयाँ पुस्ताको सरकारले पुरानो राजनीतिक संस्कारलाई परिवर्तन गर्ने उहाँको दाबी छ । वर्तमान सरकारले जनतालाई शासन गर्ने नभई सेवा गर्ने राजनीतिक संस्कार विकास गर्ने उहाँले बताउनु भयो । पुरानो पुस्ताले जनतामाथी राज मात्रै गरेको उल्लेख गर्दै उहाँले नयाँ पुस्ताले जनाको सेवा गर्ने बताउनु भयो ।
१९. जेन–जी आन्दोलनका क्रममा पक्राउ परेकालाई तत्काल रिहा गर्न रास्वपा सांसद शर्माको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोम शर्माले जेन–जी आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले आन्दोलनमा सहभागीहरु अझैपनि जेलमा रहेकोले रिहाई गर्न माग गर्नुभएको हो । उहाँले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई अपराधीको रूपमा व्यवहार नगर्न सरकारलाई आग्रह गर्नुभयो । सांसद शर्माले जेनजी आन्दोलन देश जलाउन नभई देश बनाउनका लागि भएको दाबी गर्नुभयो । उहाँले आफरुहरुमाथी देश जलाउनेहरुको ट्याग लाग्ने गरेको गुनासो गर्नुभयो ।
२०. जेन–जी आन्दोलनका माग सम्बोधन गर्न दिनहुँ छलफल गर्छौं, भदौ २३ को नियति अब कसैले भोग्न नपरोस्ः कानूनमन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जेन–जी आन्दोलका शहीद तथा घाईतेहरुको माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले वर्तमान सरकारप्रति भरोसा राख्न आग्रह गर्नुभएको हो । उहाँले जेन–जी आन्दोलनका माग सम्बोधन दैनिक छलफल भईरहेको बताउनु भयो । लोकतन्त्रमा पनि गत भदौ २३ गते नागरिकमाथी गोली चलेको उल्लेख गर्दै अब त्यस्तो नियति कसैले भोग्न नपर्ने बताउनुभयो । उहाँले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एक ठाउँमा आएर एकअर्कालाई सहयोग गर्न र ढाडस दिन पनि आग्रह गर्नुभयो । जेन–जीभित्रै विभाजन र दोषारोपण बढेमा आन्दोलनका विरोधीहरूले त्यसको फाइदा उठाउने उहाँको भनाई छ ।
२१. जेन–जी आन्दोलनको माग पूरा नहुन अर्को गोली चल्नुपर्छ, त्यो हिम्मत कसैको छैनः गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले अब गोली चलाउने हिम्मत कसैको नभएको बताउनु भयो । शहीद परिवार, घाइते तथा जेन–जी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ । उहाँले शहीद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले जनताले आफूलाई दिएको जिम्मेवारी ईमानदारीताका साथ पूरा गर्ने दाबी गर्नुभयो ।
२२. पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी ः ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’
गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनलाई पुराना राजनितिक दलहरुले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले ईतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिनुभयो । जेन–जी आन्दोलन नेपालको एतिहासिक ईतिहास भएको दाबी गर्दै उहाँले इतिहासको अवव्याख्या गर्ने छुट कसैलाई नभएको बताउनु भयो । उहाँले पुराना राजनीतिक शक्तिहरूलाई ‘सुध्रिन’ चेतावनी दिनुभयो । जेनजी आन्दोलनलाई अपमान ३ करोड नेपाली जनतालाई अपमान भएको उहाँको दाबी छ । गृहमन्त्री गुरुङले पुराना राजनीतिक सोच र परम्परागत कार्यशैलीबाट नयाँ नेपाल निर्माण हुन नसक्ने बताउनु भयो । उहाँले पुराना दलका नेताहरूलाई समयमा नै आफ्नो सोच र कार्यशैली परिवर्तन गर्न आग्रह गर्नुभयो ।
२३. शहीदको रगत खेर जान दिँदैनौं, भ्रष्टको कठालो समातेर कारबाही गर्छौंः सांसद सुनार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताउनुभएको हो । उहाँले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताउनु भयो । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उहाँको भनाई छ । १ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उहाँको दाबी छ । उहाँले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले जेन–जी शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गर्नुभयो ।
२४. सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेन–जी घाइते श्रेष्ठ
जेन–जी आन्दोलनका घाइते प्रतिश श्रेष्ठले सरकारले जेन–जीसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयनमा नआएको आरोप लगाउनुभएको छ । जेन–जी शहीद दिवसका अवसरमा जेन–जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले सम्झौता कार्यन्वयन गर्न तदारुकता नदेखाएको आरोप लगाउनुभएको हो । उहाँले आन्दोलनमा मृत्यु भएका सबैलाई शहीद घोषणा नगरेको आरोप लगाउनु भयो । घाइतेको उपचार, राहत तथा पुनस्र्थापना, शिक्षा, रोजगारी, उच्चस्तरीय आयोग गठन र संविधान संशोधन लगायतका सम्झौतामा भएका व्यवस्था सरकारले कार्यान्वयन नगरेको उहाँको भनाई छ ।
२५. ‘हानि–नोक्शानी कोष’बाट क्षतिपूर्ति पाउन सरकारले भोटेकोशी बाढी जलवायु परिवर्तनकै कारण भएको भनी वैज्ञानिक प्रमाणसहित पुष्टि गर्नसक्नुपर्छ’
नेपाल सरकारका पूर्वसचिव डा. गणेशराज जोशीले नेपालले रसुवाको भोटेकोशी बाढीबाट भएको क्षतिबापत हानि–नोक्शानी कोषबाट क्षतिपूर्ति पाउन वैज्ञानिक प्रमाणसहित दाबी प्रश्तुत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दीगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रसुवा बाढी प्राकृतिक प्रकोप मात्र नभई विश्वव्यापी तापमान वृद्धिका कारण सिर्जित विपद् हो भनी वैज्ञानिक तथ्य र तथ्यांक प्रश्तुत गर्नुपर्ने बताउनु भयो ।
२६. जलवायु परिवर्तनबारे अनुसन्धान तथा तथ्यांक संकलनका लागि सरकारले विश्वविद्यालयहरुलाई आर्थिक सहयोग गर्नुपर्छः सांसद रेग्मी
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा.धनञ्जय रेग्मीले जलवायु परिवर्तन र हिमनदीबारे अनुसन्धान तथा तथ्यांक संकलन गर्न सरकारले विश्वविद्यालयहरुलाई आर्थिक सहयोग गर्नुपर्ने बताउनुभएको छ ।
राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दीगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनबारे अध्ययन तथा अनुसन्धान गर्न सरकारले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयलाई पर्याप्त सहयोग नगरेको तथा विदेशी संघसंस्थाका परियोजनामार्फत मात्र अध्ययन हुने गरेको बताउनु भयो ।
२७.रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रमः हिमताल तथा हिमनदी विज्ञ कायस्थ
हिमताल तथा हिमनदी विज्ञ डा. रिजनभक्त कायस्थले रसुवाको भोटेकोशी बाढीको मुख्य कारण हिमाली क्षेत्रमा बढ्दो तापक्रम भएको बताउनुभएको छ । राजधानीमा आयोजित ‘विपद् उत्थानशीलता र दिगो मित्रताका लागि नेपाल–चीन सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी जलवायु परिवर्तनको कारण नेपालको हिमाली क्षेत्रमा तापक्रम बढ्ने दर अन्य क्षेत्रको तुलनामा उच्च रहेको अध्ययनले देखाएको उहाँले बताउनु भयो । अध्ययनकाअनुसार हिमाली क्षेत्रमा तापक्रम बढ्दै जाँदा हिमनदीहरू सानो हुँदै गएका छन् भने हिमतालको आकार बढिरहेको उहाँले बताउनु भयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij