२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । जापानको फुकुओकामा नेपाली युवती लक्ष्मी राजवंशीको हत्या प्रकरणमा तीन नेपाली पक्राउ परेका छन्।
जापान प्रहरीले हत्या अभियोगमा फुकुओका सहरको हाकाता वार्डस्थित एक व्यावसायिक विद्यालयमा अध्ययनरत २८ वर्षीय सन्जु तामाङ, सागा प्रिफेक्चरको तोसु सहरमा बस्ने २५ वर्षीय अमिस्ता तामाङ र सोही स्थानमा बस्ने २२ वर्षीय प्रबिन लामालाई पक्राउ गरेको जनाएको छ।
झापाको चन्द्रगढीकी २५ वर्षीया राजवंशी गत १९ अगस्टमा फुकुओकास्थित एक खोलामा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीका अनुसार उनको टाउकोमा प्रहार गरी घाँटीमा डोरीले कसेपछि बरन्डाबाट नदीमा खसालिएको हुनसक्ने आशंका गरिएको छ।
पक्राउ परेका तीनै जनाले आरोप स्वीकार गरेका छन् वा अस्वीकार गरेका छन् भन्नेबारे प्रहरीले अहिलेसम्म सार्वजनिक गरेको छैन।
अनुसन्धानका क्रममा मृतक राजवंशीसँग प्रेम सम्बन्धमा रहेका प्रबिन लामा र पक्राउ परेकी सन्जु तामाङ एउटै घरमा बस्दै आएको तथ्यसमेत खुलेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको पृष्ठभूमिमा प्रेम सम्बन्धसँग जोडिएको विवाद हुनसक्ने आशंका गरेको छ। सोही आधारमा हत्या हुनुअघिको घटनाक्रम र पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij