२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर जगाइराख्ने बताएका छन्।
जेनजी शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै गुरुङले पार्टी सभापति लामिछानेले आफूलाई विश्वास गरेर दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक पूरा गर्ने बताएका हुन्।
‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर। म त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ उनले भने।
गुरुङले आफू मन्त्रीका साथै दाइ, भाइ र छोरा भएको उल्लेख गर्दै गोली चलेमा मात्रै आफू ढल्ने दाबी गरे। देशमा फेरि गोली चलाउने हिम्मत कसैले गर्न नसक्ने उनको जिकिर थियो।
‘तपाईंहरूको यो मन्त्री, दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ। त्यो भनेको अर्को गोली चल्नुपर्छ। अर्को गोली चलाउनका लागि यो देशमा कसैले हिम्मत गर्न सक्दैन। म तपाईंहरूलाई विश्वास गराउन चाहन्छु,’ उनले भने।
उनले जेनजी आन्दोलनले उठाएका अपेक्षा र सुशासनको मुद्दालाई सरकारले गम्भीरतापूर्वक अघि बढाउनुपर्नेमा समेत जोड दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij