२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कमन जेनजी नेपालले जेनजी आन्दोलन भएको एक वर्ष बितिसक्दा पनि आन्दोलनले उठाएका मूल मुद्दामा अपेक्षित उपलब्धि हासिल हुन नसकेको निष्कर्ष निकालेको छ।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार वक्तव्य जारी गर्दै कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले राजनीतिक परिवर्तनको अपेक्षा गरिए पनि देशले अझै अपेक्षित निकास पाउन नसकेको बताएका छन्। आन्दोलनपछि समस्या समाधान हुनुको साटो झन् जटिल बन्दै गएको उनको भनाइ छ।
साहका अनुसार जेनजी आन्दोलनको उपलब्धिका रूपमा रवि लामिछानेको नख्खु जेलबाट रिहाइ र काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह प्रधानमन्त्री बन्नुबाहेक आम नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने उल्लेखनीय परिवर्तन देखिएको छैन।
‘ऐतिहासिक जेनजी आन्दोलनको जगमा देशले ठूलो राजनीतिक परिवर्तनको अपेक्षा गरेको थियो। तर आन्दोलनको एक वर्ष बितिसक्दा पनि देशले अपेक्षित राजनीतिक निकास पाउन सकेको छैन,’ साहले भनेका छन्, ‘समस्याहरू झन् जटिल बन्दै गएका छन् र परिवर्तनको प्रवाह यथास्थितिमै अल्झिएको छ।’
आन्दोलनअघि आफूलाई वैकल्पिक नेतृत्वका रूपमा प्रस्तुत गरेका व्यक्तिहरू छोटो समयमै आलोचित बन्न थालेको साहको टिप्पणी छ। हिजो ‘रामराज्य’को वकालत गर्नेहरू नै अहिले जनअपेक्षाअनुसार अघि बढ्न नसकेको उनले आरोप लगाएका छन्।
आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिको घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्नेमा सरकारले उनीहरूसँगै सहकार्य गरिरहेको साहको आरोप छ। आन्दोलनमा सहभागी युवामाथि झूटा मुद्दा लगाएर दुःख दिने काम भइरहेको दाबीसमेत उनले गरेका छन्।
त्यस्तै, आन्दोलनका क्रममा घाइते भएका युवालाई राज्यले निःशुल्क र प्रभावकारी उपचार उपलब्ध गराउन नसकेको साहले बताएका छन्। आर्थिक अभाव, मानसिक तनाव र शारीरिक पीडाबीच घाइतेहरू संघर्ष गर्न बाध्य भएको उनको भनाइ छ।
वर्तमान बालेन्द्र शाह नेतृत्वको सरकारले जेनजी आन्दोलनमा युवाले गरेको बलिदानलाई राजनीतिक स्वार्थ पूरा गर्ने माध्यम बनाएको आरोप पनि साहले लगाएका छन्। युवाका लागि आवश्यक नीतिगत तथा संरचनागत सुधार नगरी ‘जेनजी’का नाममा सार्वजनिक बिदा घोषणा गर्नेजस्ता प्रतीकात्मक कदममा सरकार केन्द्रित भएको उनको दाबी छ।
साहले आन्दोलनका बाँकी मुद्दा तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नुपर्ने, आन्दोलनकारीमाथि लगाइएका झूटा मुद्दा बिनासर्त खारेज गर्नुपर्ने तथा भ्रष्टाचारमा संलग्नमाथि कडा कारबाही गर्नुपर्ने उनको माग छ।
युवाका लागि दीर्घकालीन नीतिगत तथा संरचनागत सुधार गर्नसमेत उनले सरकारलाई आग्रह गरेका छन्। सार्वजनिक बिदा घोषणा गरेर मात्र जेनजी आन्दोलनको भावना सम्बोधन नहुने भन्दै साहले युवाका मागअनुसार ठोस काम गर्न सरकारलाई चेतावनी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij