२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं। श्रम-संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजोदेखि श्रमदाताको दलबल सहित नुवाकोटका बाढीपीडितहरूको उद्धार र राहतमा सक्रिय छन् ।
उनको टोलीले पीडितहरूका लागि होल्डिङ सेन्टरमा शौचालय बनाउनेदेखि अत्यावश्यक र आधारभूत राहत सामग्री वितरणका कामहरू गरिरहेको छ ।
सरकारको काम गराइमा असन्तुष्टि पोख्दै आएका हर्क दुई दिनअघि आफैँ पार्टीका केही नेता र श्रमदाता लिएर बाढी प्रभावित स्थल पुगेका हुन् । उनको टोली आज नुवाकोटको बेत्रावतीको माथिल्लो केराबारी र तल्लो केराबारीमा सक्रिय छ । बेत्रावती बजारमा बाढी आएपछि माथिल्लो र तल्लो केराबारीका स्थानीयहरू गम्भीर समस्यामा परेका थिए ।
हर्कसँगै नुवाकोट पुगेका श्रम संस्कृति पार्टीका केन्द्रीय सह–कोषाध्यक्ष जितेन बान्तवा राई यस क्षेत्रका जनताले सरकारको तर्फबाट कुनै पनि किसिमको राहत नपाएको बताउँछन् । यस ठाउँमा सरकार पुग्न नसकेकाले राहत सामग्री लिएर आफूहरू आएको उनले दाबी गरे ।
‘हामीले दुई सय घरलाई राहत लिएर आएका थियौँ । १६० घरलाई बाँडिसक्यौँ, अब ४० घरलाई बाँड्न बाँकी छ,’ जितेनले भने, ‘‘यहाँ त कति बिजोग रहेछ भने बाढीपीडितहरूको होर्डिङ सेन्टर पनि रहेनछ । शौचालय पनि रहेनछ । हाम्रो पार्टी आएपछि सबै कुराको व्यवस्था हुँदै छ ।’
आफूहरू आउने हल्ला चलेपछि यस क्षेत्रमा सेना, प्रहरी र सशस्त्र पनि थपिएको उनको भनाइ छ । जितेनले थप भने, ‘हामी आउने भएपछि नै यहाँ बगरमा सुन पनि भेटिएछ । एक जनाको जीवित उद्धार पनि भएछ । हामी सरकार नपुगेको ठाउँमा पुग्ने सक्दो कोसिस गरिरहेका छौँ, यो हाम्रो अभियान नै हो ।’
राहत वितरणको सन्दर्भमा आफूहरूले वास्तविक पीडित हो कि होइन, मज्जाले अनुसन्धान गरेपछि मात्र वितरण गरेको उनले बताए । राहत सामाग्रीभित्र दाल, चामल, तेल, सोयाबिन, नुन, साबुन र भाँडाकुँडा रहेको जानकारी दिँदै उनले केही लत्ताकपडा पनि बाँडेको उल्लेख गरे ।
हर्कको टोली एउटा हाइलेक्स र एउटा ट्रकमा राहत सामग्री बोकेर नुवाकोट पुगेको थियो । टोली अब रसुवाको धुन्चेमा जाने तयारीमा रहेको छ ।
बाढीपीडितका लागि शौचालय बनाइदिएको विषयमा जितेनले भने, ‘यहाँ होर्डिङ सेन्टरमा केही सुरु नै नभएको रहेछ । पीडितहरू माथि गाउँतिर आफन्तको घरतिर घुसेर बसेका रहेछन् ।’
आफूहरू आउनासाथ यहाँ होर्डिङ सेन्टर सञ्चालन गरिएको उनले बताए । ‘पीडितहरूलाई एक ठाउँमा जम्मा गर्यौँ । अध्यक्षज्यु आफैँले खाल्डो खनेर तीन वटा शौचालय बनाइदिनुभयो । अहिले त हामी पीडितहरूलाई विभिन्न घरहरु पनि बनाइदिन थालिहाल्ने स्थितिमा छौँ । हामीले हिजो पनि श्रमदानमार्फत घर, पुल बनाउँदै नै आएको हो क्यारे !’
यदि राज्यले ढिलाइ गर्छ भने पीडितको पुनर्स्थापनाको लागि श्रम संस्कृति पार्टी अगाडि सर्ने जितेनको भनाइ छ । राज्यले पीडितको पहिचान गरेर छिटोभन्दा छिटो घर बनाइदिनुपर्ने, नत्र श्रम संस्कृति पार्टीलाई बनाउन दिनुपर्ने उनले बताए । राज्यले एकद्धार प्रणाली लागू गरेर १० दिनसम्म सबैलाई रोकेर राखे पनि अपेक्षित नतिजा दिन नसकेको उनले टिप्पणी गरे ।
उनले भने, ‘सबैले १० दिनपछि किन गएको भन्छन् । राज्यले नजानू भनेपछि हामी कसरी आउने त ?’ अहिले होर्डिङ सेन्टरमा मेडिकल टिमहरू पनि खटाइएको जितेन बताउँछन् । श्रम संस्कृतिले बाँडिरहेको राहत सामाग्रीको स्रोत चाहीँ प्रवासमा रहेको श्रम संस्कृतिमा आबद्ध श्रमदाताहरू रहेको उनको भनाइ छ ।
उनले भने, ‘हामीले पार्टीको तर्फबाट १५ लाख उद्धार कोषमा हालिसकेका छौँ । अहिले १२६ देशमा हाम्रो सङ्गठन बनिसकेको छ । प्रवासमा रहनुभएका श्रमदाताले सरकार पुग्न नसकेको ठाउँमा यो राहत दिनुहोस् है भनेर पठाउनुभएको सहयोग नै अहिले बाडीपीडितकहाँ पुर्याइरहेका छौँ ।’

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij