२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले विवादमा तानिएको ‘ग्रीन आर्मी’ संस्था तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको केन्द्रीय संयोजन समितिको बैठकले विशेष प्रस्ताव पारित गर्दै सेनासँग मिल्दोजुल्दो पोसाक र शैलीमा देखिएको ‘ग्रीन आर्मी’ खारेज गर्न माग गरेको हो।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाले सोमबार जारी गरेको विज्ञप्तिमा गम्भीर विपद् र संकटको मौका छोपी निहित स्वार्थ पूरा गर्ने प्रयास नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ। बाढीग्रस्त क्षेत्रमा दर्ज्यानी चिह्नसहित सेनासँग मिल्दोजुल्दो युद्ध पोसाक र शैलीमा देखिएको कथित ‘ग्रीन आर्मी’लाई तत्काल खारेज गर्न सरकारसँग माग गरिएको विज्ञप्तिमा जनाइएको छ।
नेकपा नेपालले विपद्को सामना एकीकृत राष्ट्रिय शक्ति निर्माण गरेर मात्रै गर्न सकिने भन्दै तत्काल सर्वदलीय बैठक र राष्ट्रिय समन्वय परिषद्को बैठक बोलाउनसमेत सरकारलाई सुझाव दिएको छ।
यस्तै, विपद्को कठिन परिस्थितिमा सहयोग र सद्भाव प्रकट गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय संघसंस्था तथा गैरआवासीय नेपालीलाई पार्टीले धन्यवाद दिएको छ। आगामी पुनर्निर्माणका लागि थप सहयोग गर्नसमेत नेकपा नेपालले अपिल गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij