२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । तीन दिने नेपाल भ्रमणमा आएका दक्षिण कोरियाका विदेश मन्त्री चो र परराष्ट्रमन्त्री शिशिर खनालबिच भेटवार्ता भएको छ । विदेश मन्त्री चोले आज परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेटवार्ता गरेका हुन् ।
भेटमा भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसबाट उत्पन्न परिस्थितिको पछिल्लो अवस्थाको बारेमा परराष्ट्र मन्त्री खनालसँग छलफल भएको बताइएको छ । बाढीमा अपर त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत ९ जना दक्षिण कोरियाली नागरिक बेपत्ता भएका छन् ।
उनले त्यसबारेमा पनि परराष्ट्रमन्त्री खनालसँग जानकारी लिएको बताइएको छ । दक्षिण कोरियाका ‘कोरिया डिजास्टर रिलिफ टिम’ यतिखेर नेपालमा उद्धारमा खटिइरहेको छ ।
भेटमा आवश्यक परे थप सहयोग र प्राविधिक पठाउन सकिने धारणा उनले राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनालले बेपत्ता भएका कोरियाली नागरिकलाई खोजी गर्न कुनै कसर बाँकी नराख्ने धारणा राख्दै कोरिया सरकारले विपद्को समयमा देखाएको सौहद्रताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।
भेटवार्तामा परराष्ट्रमन्त्री चोले नेपालमा विपद्पछिको पुनर्निर्माण तथा पुनः स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भेटमा मन्त्री चोले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन लगायतका अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले भोग्नुपरेका चुनौती र क्षतिका विषयमा संयुक्त रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेका थिए ।
नेपाल र गणतन्त्र कोरियाबिच श्रम, विकास साझेदारी, व्यापार, लगानी, प्रविधि तथा जनस्तरको सम्बन्धलगायतका विभिन्न क्षेत्रमा सहकार्य हुँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij