२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालासँग छुट्टाछुट्टै छलफल गरेका छन्।
एक कांग्रेस नेताका अनुसार सभापति थापाले शनिबार पूर्वउपसभापति खड्का र आज नेता कोइरालासँग भेट गरेका हुन्। आसन्न १५औँ महाधिवेशन तथा भोटेकोशी बाढीपछि राहत र पुनर्निर्माणलगायत विषयमा छलफल गर्न लागिएको कांग्रेसको कार्यसम्पादन समिति बैठकअघि थापाले दुवै नेतासँग संवाद गरेका हुन्।
कांग्रेसका एक पदाधिकारीका अनुसार खड्का र कोइरालासँग भएको छलफलका विषय सभापति थापाले कार्यसम्पादन समिति बैठकमा जानकारी गराउनेछन्।
यसैबीच, महाधिवेशनलाई सहमतिमा अघि बढाउने प्रयासस्वरूप वडा तहको अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको छ। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्म नै गर्ने गरी तल्लो तहका अधिवेशनको कार्यतालिका परिवर्तन गर्न लागिएको हो।
पूर्वसभापति शेरबहादुर देउवा पक्षले मंसिरमा महाधिवेशन गर्ने गरी प्रस्ताव गरेको कार्यतालिकाप्रति खड्का र कोइराला सहमत देखिएका छैनन्। देउवा पक्षले कार्यतालिका ल्याउने बैठकमा समेत उनीहरू सहभागी भएका थिएनन्। त्यस्तै, देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलाको अन्तिम दिनमा पनि खड्का र कोइराला सहभागी नभएको बताइएको छ।
महाधिवेशनको मिति, संगठनात्मक अधिवेशन र पार्टीभित्रको सहमति निर्माणका विषयमा कांग्रेसभित्र पछिल्लो समय संवाद तीव्र बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij