२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालका लागि आफ्नो ‘ट्राभल एडभाइजरी’ परिमार्जन गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिक तथा पर्यटकलाई बढी सतर्कता अपनाउन आग्रह गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल–२ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ । तर, बाढी तथा पहिरोबाट प्रभावित रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल–४ : यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ ।
अमेरिकाले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकातर्फ कुनै पनि कारणले यात्रा नगर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ । ठूलो बाढी र पहिरोका कारण उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र खोज, उद्धार तथा पुनःस्थापनाका काम अझै जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
यात्रा सुझावमा प्रभावित क्षेत्रमा थप बाढी तथा पहिरोको सम्भावना रहेकोसमेत उल्लेख गरिएको छ । भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीलाई समेत जोखिमयुक्त क्षेत्रका रूपमा उल्लेख गर्दै नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरिएको छ ।
त्यस्तै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशन पालना गर्न अमेरिकाले आफ्ना नागरिकलाई सुझाव दिएको छ । हराइरहेका आफन्त वा अन्य व्यक्तिको खोजी गर्न भन्दै सर्वसाधारण वा विदेशी नागरिक आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्नसमेत स्पष्ट चेतावनी दिइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल भूकम्प, बाढी र पहिरोको जोखिममा रहेको मुलुक भएको उल्लेख गरेको छ । भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने तथा काठमाडौं उपत्यकासमेत त्यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।
विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक बाढी र पहिरो आउन सक्ने, सडक अवरुद्ध हुने तथा भवन र पूर्वाधारमा क्षति पुग्न सक्ने भन्दै आपत्कालीन अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्न कठिन हुनसक्ने अमेरिकाले जनाएको छ ।
यात्रा सुझावमा नेपालका स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमता सीमित रहेकोसमेत उल्लेख गरिएको छ । काठमाडौंका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि भीडभाड, आवश्यक उपकरण तथा औषधिको अभाव र उपचारअघि नै शुल्क मागिने अवस्था हुनसक्ने अमेरिकी विदेश मन्त्रालयको भनाइ छ ।
विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले नबेहोर्ने भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा लैजान र यात्रा स्वास्थ्य बीमा गर्नसमेत सुझाव दिइएको छ ।
नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई अमेरिकी सरकारले स्थानीय सञ्चारमाध्यममार्फत तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न आग्रह गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij