२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव रसुवा बाढीले पुरिएको जलविद्युत आयोजना स्थलमा जारी सुरुङ उत्खननको अवलोकनमा पुगेका छन् ।
यसबारे उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाल चिलिमे नजिकै स्याफ्रुबेसीमा खटिएको हाम्रो प्राविधिक टोलीलाई भेटेँ ।’
उनका अनुसार उद्धार कार्यका लागि प्रावधिकहरूले चिलिमे पावर हाउसको सुरुङ खन्ने काम निरन्तर जारी राखेका छन् । नेपाली सेनासँगै काम गरिरहेको भारतीय प्राविधिक टोलीले विशेष उपकरणको प्रयोग गरी सुरुङभित्र १०० मिटरअघिसम्म खोजी गरिसकेको छ ।
‘सुरुङभित्र अझ अगाडि बढ्न उनीहरूले भारी उपकरणहरू ल्याउने योजना बनाएका छन्’ उनले लेखेका छन्, ‘हाम्रो र नेपाली टोलीले प्रगति गरिरहेको कठिन दलदले जमिन र चुनौतीपूर्ण भूभाग प्रत्यक्ष रूपमा देखेँ ।’
परिस्थिति कठिन भए तापनि दुवै भारतीय र नेपाली टोलीहरू अविचलित भई आफ्नो काम निरन्तर गरिरहेको पनि उनले बताएका छन् । भदौ १० गते बुधबार भोटेकोशी त्रिशूली नदीमा निावशकारी बाढी आएको थियो ।
उक्त बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ । विनाशकारी बाढीले विभिन्न जलविद्युत आयोजना प्रभावित छ ।
यो अवस्थाबारे स्थलगत अवलोकनका लागि नेपालका लागि भारतीय राजदूत श्रीवास्तव चिलिमे नजिकै स्याफ्रुबेसी पुगेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij