२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । विदेशी विशेषज्ञसँग नेपालले विभिन्न पाँच वटा आयोजनामा उद्धारको काम गरिरहेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार चिलिमे र लाङटाङ क्षेत्रमा भारतीय सुरुङ उद्धार टोली र नेपाली सेनाले आवश्यक उपकरणसहित उद्धार कार्यमा जुटेका छन् ।
लाङटाङ आयोजनामा २५ जना नेपाली सेना, जलविद्युत आयोजनाका २ जना प्राविधिक र ड्रिलिङ उपकरणसहितको उद्धार कार्यमा लागेका छन् । ड्रिलिङ उपकारणको प्रयोग गरी सुरुङको माथिल्लो भागमा अर्को सानो प्वाल पारेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले अपर त्रिशूली ३ ‘ए’ मा ९३ जनाको टोलीले काम गरिरहेको जानकारी गराए । त्यहाँ चिनियाँ सुरुङ उद्धार टोलीले नेपाली सेनाको टोलीसँग मिलेर काम गरिरहेको उनले बताए । त्यस्तै,अपर त्रिशूली ३ ‘बी’ मा ६७ जना नेपाली सेना, तीन जना जलविद्युत् प्राविधिक र एक्साभेटर सहितको टोली खटिएका छन् ।
अपर त्रिशूलीमा नेपाली सेना र जलविद्युत् क्षेत्रका प्राविधिकहरू पुनः सुरुङभित्र प्रवेश गरेका छन् । रसुवागढी आयोजना स्थलमा एक्साभेटर प्रयोगको सम्भावना अध्ययन गर्न ड्रोनको प्रयोग गरेको छ । अपर त्रिशूली १ मा कोरियाली सुरुङ उद्धार टोलीले नेपाली टोलीसँग सहकार्य गर्दै उद्धारको कार्य गरिरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij