Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता

३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता


  • 617
    Shares

    ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता
    images

    काठमाडौं । भोटेकोशी बाढीपछि ३४ देशका ५९० विदेशी नागरिक अझै बेपत्ता सूचीमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    बिहीबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले हालसम्म ३०० भन्दा बढी विदेशी नागरिकको उद्धार गरिएको जानकारी दिँदै अझै ३४ देशका ५९० विदेशी नागरिक बेपत्ता रहेको बताए ।

    उनका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमसम्म ९ हजार ३ सयभन्दा बढी नेपाली सेनाका जनशक्ति उद्धार तथा खोजी कार्यमा परिचालित छन् ।

    भारतीय टनेल उद्धार टोली नेपाली सेनासँग समन्वय गरी आवश्यक उपकरणसहित परिचालित रहेको र चिलिमेतर्फ थप एक्स्काभेटर पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

    त्यस्तै, लाङटाङतर्फ सेना र प्राविधिक टोलीले मेसिन प्रयोग गरी सुरुङको अपस्ट्रिम भागमा सानो प्वाल खोल्न सफल भएको प्रवक्ता पौडेलले बताए । माथिल्लो त्रिशूली–३ ‘ए’ मा चिनियाँ टनेल टोली र नेपाली सेनासहित ९३ सदस्यीय संयुक्त टोली थप जनशक्ति तथा उपकरणसहित खोज तथा उद्धारमा खटिएको छ ।

    बाढीमा ज्यान गुमाएकाहरूको शव पहिचानका लागि भारतबाट १९ सदस्यीय र चीनबाट ५ सदस्यीय विशेष फोरेन्सिक टोली नेपालमा कार्यरत रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

    विपद्पछि भारत, चीन, अमेरिका, बेलायत, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपेली युनियन, विश्व बैंक, एसियाली विकास बैंकलगायत दर्जनौँ मित्रराष्ट्र तथा दातृ निकायले ऐक्यबद्धता र सहयोग जनाएका छन् ।

    यसैबीच, केरुङबाट १४० जना नेपाली तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको मन्त्रालयले जनाएको छ । चिनियाँ सीमा क्षेत्रतर्फ अझै करिब १०० नेपाली बेपत्ता रहेको प्रवक्ता पौडेलले जानकारी दिए । 

    प्रकाशित मिति :भाद्र १८ २०८३ बिहिवार - १६:०२:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij